जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार ०९:४५

नेपाली कांग्रेसबाट यी नेता बन्दैछन मन्त्री


काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको छ । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाउनु भएको हो ।

कांग्रेसका एक नेताका अनुार पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने हुनुभएको छ । देउवाले पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी गर्नुभएको छ । देउवाले अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी गरेको ति नेताले जानकारी दिए । कांग्रेसको भागमा परेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी र पुष्पा भुषालमध्ये एक जनालाई पठाउने तयारी छ ।

दुवै जना सभापति देउवानिकट हुनुहुन्छ । पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ । चौधरीलाइ युवा तथा खेलकूद मन्त्री बनाउने तयारीमा देउवा हुनुहुनछ । देउवाले झण्डै तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको छ ।

देउवा सर्वाेच्चको परमादेशबाट गत २९ असारमा प्रधानमन्त्री बन्नुभएको थियो । देउवाले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री बनाइसक्नु भएको छ ।

देउवाले आफूनिकट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री बनाइसक्नु भएको छ । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् विस्तार र शपथ गराउने तयारी थालेका छन् । मन्त्रिपरिषद बिस्तार गर्दा कानून मन्त्री कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने हुनुभएको छ ।