जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १२:११

अध्यक्ष माधव, मन्त्री छान्नेचाँहि प्रचण्ड !


काठमाडौं, असोज २२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बरिष्ठ नेता झलनाथ खनाल निकट नेताहरुलाई मन्त्री बन्न रोक लगाउनु भएको छ । पार्टीमा खनालको प्रभाव खासै नरहेको भन्दै नेपालले एक जना पनि खनालको सिफारिशमा मन्त्री नबनाउनु भएको हो ।

स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बरिष्ठ नेता खनालले हिराचन्द्र केसी रजीवनराम श्रेष्ठको नाम मन्त्रीका लागि सिफारिश गर्नुभएको थियो । तर नेपालले दुवै जना बिवादास्पद र संकास्पद गतिबिधिमा रहेको भन्दै मन्त्रीको लिस्टबाट हटाएर चारै जना आफ्ना मानिस पठाउनु भएको हो । नेपालले प्रेम आले र किशान श्रेष्ठले पार्टी सञ्चालनको सवै खर्च बेहोरेको कारण मन्त्री बनाउनै पर्ने र आगामी चुनावका लागि खर्च जुटाउन पनि सो काममा पोख्न आले र श्रेष्ठलाई मन्त्री बनाउनै पर्ने भन्दै खनालको कोटा काटनु भएको एक नेताले जनताटाइम्सलाई बताए ।

‘प्रेम आले र किशान श्रेष्ठलाई खर्च ब्यवस्थापनकै लागि पठाउनु पर्ने भएपछि खनालको सिफारिश काम लागेन,’ ती नेताले जनताटाइससँग भने । यता चार जना मन्त्री मात्रै भाग परेपछि मेटमणि चौधरी पनि आउट हुनुभएको छ । नेकपा एस बनाउन माधवलाई सचिव रामकुमारी झाँक्रीसँगै मेटमणिको निर्णायक भुमिका रहेको थियो । तर मन्त्रीमा भने चौधरीको कार्यशैली र बेहोरा ठीक नभएको भन्दै काटिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सुझावअनुसार मेटमणिको नाम मन्त्रीबाट काटिएको स्रोतले बतायो । आफ्नो पार्टीबाट थारु समुदायको मन्त्री बनाउन नसकेको र माधवले बनाउँदा माओवादीभित्र असन्तुष्टि बन्ने भन्दै प्रचण्डले मेटमणिलाईमन्त्री नबनाउन माधवलाई सुझाउनु भएको स्रोतले बतायो ।

स्रोतका अनुसार हक्की स्वभावका रहेका कारण मेटमणिले मन्त्रिपरिषदमा भएको कतिपय गोप्य कुरा आफूलाई चित्त नबुझेमा बाहिर ल्याइदिने भन्दै नेपाललाई नपठाउन सुझाउनु भएको थियो । यता माधवले झलनाथ खनाल नमानेको कारण मन्त्री बनाउन नसकेको चौधरीलाई बताउनु भएको छ । त्यसो त माधवले रामकुमारी झाँक्रीलाई मन्त्री बन्न नदिन अनेक योजना बनाए पनि पार्टीभित्रकै ठूलो समुह झाँक्रीकै पक्षमा रहेपछि बाध्य भएको ती नेताको भनाई छ ।