जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १५:३२

नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर


काठमाडौं, २२ असोज । एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म ‘एक्स ९’ लाई बृहत् बनाउने तयारी थाल्नुभएको छ । नेपाली फिल्मनगरीका मह‌गा अभिनेता अनमोल केसीलाई लिड रोलमा अनुबन्ध गरेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गर्नुभएको छ । फिल्मको कुराकानी विभिन्न माध्यमबाट गरे पनि हालै उहाँले मुम्बईमा भेटेर अफर गर्नुभएको हो ।

पछिल्लो समय बलिउड तथा दक्षिण भारतीय फिल्ममा भिलेनको भूमिकामा देखिने गर्नुभएको सुनिललाई एन्टागोनिस्टकै भूमिका अफर गरिएको छ । मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी सकारात्मक रहेको जनाउँदै सामाजिक सञ्जालमार्फत केही दिनमा यसबारे बताउने उल्लेख गर्नुभएको छ । ‘उहाँले मेरो पछिल्लो निर्देशित फिल्म हेर्नु भयो र मैले अपनाएको शैलीको तारिफ गर्नु भयो,’ निर्देशक भट्टले लेख्नुभएको छ,‘उहाँ आफ्नो भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ ।’

यद्यपि फिल्ममा उनी अनुबन्धित भने भइसकेका छैनन् । फिल्मको छायांकन नेपाल, भारत र युरोपमा गर्ने तयारी भइरहेको जनाउँदै निर्देशक भट्टले सुनिलले दैनिक पारिश्रमिकमा काम गर्ने जनाउनुभयो । उहाँले एक सातामै काम सक्ने तयारीसमेत थाल्नुभएको छ । नेपाली फिल्मलाई नयाँ लेभलको बनाउने सोचअनुसार यसपटक कथा पनि सोहीअनुसार तयार पारेको मुकुन्द बताउँनुहुन्छ । तिहारपछि यसको छायांकन सुरु गर्ने योजना निर्माण पक्षको छ ।