जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १९:५२

बेलायतले ‘रेड लिस्ट’बाट नेपाललाई हटायो


काठमाडौं, असोज २२ । बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची) बाट हटाएको छ । बेलायत सरकारले बिहीबार यस्तो निर्णय गरेको हो । यो निर्णय यही सोमबारबाट लागू हुने छ ।

कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिनुभएको छ । बेलायतले अझै पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सूचीमा कायम राखेको छ ।

नेपाललाई रातो सूचीबाट हटाएपछि लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले बेलायत सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ । खनालका अनुसार अब बेलायत यात्रा गर्ने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुने छ ।