जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार ११:०३

मन्त्रीपरिषद बिस्तारसँगै जसपामा बिवाद चर्कियो, उपेन्द्र यादवमाथि लाग्यो गम्भीर आरोप


काठमाडौं, असोज २३ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पुर्णता पाएसँग समाजवादी पार्टी नेपाल (जसपा) मा बिवाद चुलिएको छ । अध्यक्ष उपेन्द्र यादवले चारमध्ये तीन जना यादव समुदायबाटै मन्त्री पठाएपछि बिवाद चर्किएको हो ।

जसपाबाट देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीन जना यादव छन । महन्थ ठाकुर नेतृृत्व छाडेर अध्यक्ष यादवतिर लागेका प्रमोद साहले त सामाजिक सञ्जालबाट नै विरोध गर्नुभएको छ । अध्यक्ष यादवले देउवा सरकारमा रेणु यादव, रामसहाय यादव र महेन्द्रराय यादवलाई मन्त्री बनाउनु भएको छ । गैर यादव समुदायबाट राजेन्द्र श्रेष्ठ मात्रै मन्त्री हुनुहुन्छ ।

सोही घटनालाई लिएर सांसद साहले लेख्नुभएको छ, ‘आज पनि हाम्रो पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकार र दमन शोषणको नमुना रहेको ठहर गर्दछु, हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रिमण्डलमा समावेश हुनेहरूका नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो तर टुंगो लगाउँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो ।’

उहाँका अनुसार सो प्रवृत्ति र कार्यशैलीले पार्टीका लागि क्षति पुगेको छ । त्यसो त पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएपछि वीरगञ्जमा जसपाका कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला दहन गरेका छन् भने अध्यक्ष यादवका पुत्र अमरेन्द्र यादवले पनि श्रेष्ठ र रामसहायको नियुक्तीबाहेक अन्यको विरोध गरेका छन् ।

जसपाका शीर्ष नेताहरूले शुक्रबार बिहानसम्म प्रमोद साहको नाम मन्त्रीमा चयन गरेपनि दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तीको सूचना आउँदा उहाँको नाम काटिएको थियो ।