जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार १३:०८

सत्ता गठबन्धन-प्रधानन्यायाधीश सेटिङले परमादेश माग्ने वकिल नै लज्जित : भने-न्यायको घाँटी निमोठियो


काठमाडौं, असोज २३ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले परमादेशको पुरस्कार स्वरुप प्रधानन्यायाधीशका जेठानलाई मन्त्री पुरस्कार दिएपछि परमादेश माग्ने कानून ब्यवसायीहरु नै लज्जित बन्नुपरेको पाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले परमादेशको पुरस्कारस्वरुप सत्तामा भागबण्डा गरेको प्रमाण उहाँका जेठान गजेन्द्र हमाल मन्त्री बनेर आएपछि कानुन ब्यवसायीहरु सेटिगमा भएको प्रमाण आएको भन्दै लज्जत बन्नुपरेको हो । सर्वाेच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग्दै बहश गर्नुभएका कानून ब्यवसायी यो घटनाले निकै मर्माहत बन्नुपरेको बताएका छन । बरिष्ठ अधिबक्त शम्भु थापाले त मन्त्रिपरिषदमा प्रधानन्यायाधीशको भागबण्डा र साझेदारीले न्यायको घाँटी नै निमोठिएको बताउनु भएको छ ।

वरिष्ठ अधिवक्ता थापाले संवैधानिक नियुक्तिदेखि मन्त्रिपरिषद् विस्तारसम्ममा प्रधानन्यायाधीशले कार्यकारीबाट भाग लिएको घटनाले ‘न्यायको घाँटी निमोठिएको’ बताउनु भयो । देउवा सरकारमा न्यायालयको साझेदारीबारे आफ्नो धारणा राख्दै थापाले भन्नुभएको छ, ‘कार्यपालिकामा प्रधानन्यायाधीशका ज्वाइँ, जेठान किन नियुक्त गर्नुपरेको हो ? प्रधानन्यायाधीशले नै त्यसो गर्ने भएपछि मुद्दामा लेनदेन भएन र ? त्यसले न्याय मार्छ ।’

उहाँले प्रधानन्यायाधीशले नै न्यायको मोलतोल गर्नु आफैमा आपत्तिजनक काम भएका बताउनु भयो । ‘प्रधानन्यायाधीश आफैं न्यायको मोलतोल गर्न गए यसले न्यायपालिकाको स्वतन्त्रता खत्तम पार्छ । ती गजेन्द्र हमाल भन्ने व्यक्ति नभएसम्म मन्त्रिपरिषद् गठनै हुन नसक्ने कारण के हो ? प्रधानमन्त्री र प्रधानन्यायाधीशले जनतालाई स्पष्ट पार्नुपर्छ ,’ थापाले भन्नुभएको छ ।