भक्तपुर, असोज २३ । आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित बिधान महाधिवेशन बहिष्कार गर्नुभएका एमाले नेता प्रभु साह पार्टीमै क्रियाशील हुने निर्णयमा पुग्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तीन घण्टा लामो छलफलपछि पूर्वमन्त्री साह पार्टी काममा फर्कने निश्कर्षमा पुग्नुभएको हो ।
नेता साह शुक्रवार बालकोट पुगेर अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । छलफलको क्रममा अध्यक्ष ओलीले पार्टी एकताको आधारसहित बिधान महाधिवेशनले नै नेकपाकै निरन्तरताको रुपमा नेकपा एमाले रहेको तथ्य बुझाउनु भएपछि साहले पूर्ववत निर्णय परिवर्तन गरी पार्टी काममा सक्रिय हुने निश्कर्ष सुनाउनु भएको छ । साहले आफूले उठाएका धेरैवटा माग विधान महाधिवेशनमा सम्बोधन भएको बताउनुभयो । ‘कानुनी रुपमा एमाले हो तर राजनीतिक रुपमा नेकपाकै निरन्तरता हो भन्ने कुरा मेरो राजनीतिक प्रतिवेदन मै उल्लेख छ,’ अध्यक्ष ओलीको भनाई उधृत गर्दै साहले भन्नुभयो ।
उहाँले अध्यक्ष ओलीसँगको छलफलबाट आफू निकै खुसी बनेको पनि बताउनु भयो । सबैलाई त्यसै अनुसारको जिम्मेवारी हुन्छ । पार्टी काममा सक्रियतापूर्वक फर्कनोस भनेर अध्यक्षले भन्नुभएको छ,’ भेटको निश्कर्षबारे साहले भन्नुभयो । साहका अनुसार अध्यक्ष ओलीको प्रतिवेदनमा नेकपा कै निरन्तरता भन्नु नै आफ्नो मागको सुनुवाइ भएको छ । ‘अरु केही प्राविधिक कुराहरुलाई अफिसियल्ली सम्बोधन गर्न मैले माग गरें । उहाँ सकारात्मक हुनुभयो । त्यसपछि म खुशी भएर फर्कें, अव एमालेको अभियानमा मेरो सक्रियतापूर्वक सहभागिता हुन्छ,’ एमाले केन्द्रीय सदस्य साहले भन्नुभयो ।
साहले राजनीतिक कुरा सम्बोधन गर्ने अध्यक्षको प्रतिबद्धता आएपछि बाँकी प्राविधिक कुरामा धेरै अल्झिनु उपयुक्त नभएको पनि बताउनुभयो । पूर्वमन्त्री साहले उठाउनु भएको मागका विषयमा अध्यक्ष ओलीकै निर्देशनअनुसार उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र टोपबहादुर रायमाझी र साहबीच छलफल भएको थियो । सो छलफलमा सहमति जुटाएपछि साह अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्