जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार १८:०७

पूर्वप्रधानन्यायाधीशको निश्कर्ष : प्रधानन्यायाधीशको अपराध पुष्टि भइसक्यो, महाअभियोग लगाउनुपर्छ


काठमाडौं, असोज २४ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने निश्कर्ष सुनाउनु भएको छ । प्रधानन्यायाधीश जवरले संबिधानमाथि गम्भीर खेलवाड गरेको र न्यायालयलाई नै जनताको नजरमा गिराएको भन्दै पराजुलीले महाअभियोग नै लगाउनु पर्ने निश्कर्ष सुनाउनु भएको हो ।

प्रधानन्यायाधीश जवराको कोटाबाट प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री नियुक्त हुनुभएका गजेन्द्र हमालले राजीनामा दिनुले पनि सत्तामा प्रधानन्यायाधीशले हिस्सा लिएको प्रमाणित भएको पूर्वप्रधानन्यायाधीश पराजुलीको भनाई छ । प्रधानन्यायाधीशको गलत काम प्रमाणित भइसकेकोले महाअभियोग लगाएर हटाउनु पर्ने पराजुलीको तर्क छ । प्रधानन्यायाधीशले यसरी कार्यपालिकामा भाग खोज्नुलाई पराजुलीले ‘संविधानमाथिको बलात्कार’को संज्ञा दिनुभएको छ ।

‘शक्तिपृथकीकरणको सिद्धान्त, संविधानवादको सिद्धान्त र संविधान अनुसार प्रधानन्यायाधीश तथा न्यायाधीशहरुले कहिल्यै पनि कार्यकारी प्रमुखसँग हिमचिम बढाउनु हुँदैन तर अहिलेका प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा समेत भागवण्डा लिएको आरोप मात्रै लागेको छैन, तथ्यले प्रमाणित पनि गरिसकेको छ,’ पूर्वप्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, ‘प्रधानन्यायाधीशको कोटामा मन्त्री भएका व्यक्तिले राजीनामा दिएपछि आरोप पुष्टि भएको छ ।’ उहाँले चोरको खुट्टा काट् भन्दा खुट्टा उचाले जस्तो गरी अहिले मन्त्री हमालले राजीनामा दिएपछि प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग लिएको विषय छर्लंग भएको बताउनु भयो ।

‘यो विधिको शासन विरुद्धको काम हो । न्यायाधीशको आचार संहितालाई संसारभरी मानिएको सिद्धान्त हो, प्रधानन्यायाधीशले संवैधानिक परिषद अध्यादेशमा नै हिमचिम गरेर आफ्ना मान्छे भर्ना गरेको कुरा पनि अहिले आएर प्रस्ट भएको छ,’ पराजुलीले भन्नुभयो । पूर्वप्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग मन्त्री मागेको बिषय पनि खुलिसकेको र उहाँको फैसलासमेत निकै बिवादास्पद रहेको बताउनु भयो । ‘ओलीसँग पनि दुईवटा मन्त्री मागेको तर नदिएपछि कटाक्ष भएको कुरा पनि सार्वजनिक भएको छ । त्यतिमात्रै होइन, उनले गरेका धेरै फैसलासमेत विवादस्पद भएका छन,’ महाअभियोग लगाउनै पर्ने कारण बताउँदै पूर्वप्रधानन्यायाधीश पराजुलीले भन्नुभयो ।

उहाँले पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दाको फैसलाको उदाहरण दिँदै प्रधानन्यायाधीशले न्यायालयमाथि नै पटक पटक धावा बोलेको बताउनु भयो । ‘यसरी संविधानमाथि बारबार प्रहार गर्ने र संविधानलाई बलात्कार गर्नेलाई पदमा राखिराख्नु भनेको लाजमर्दो कुरा हो,’ पराजुलीको भनार्य छ । ‘अहिले संविधान उल्लंघनको कुरा सार्वजनिक भएको छ, कानुन विपरितका क्रियाकलाप हुँदा अब प्रधानन्यायाधीशलाई कुर्सीमा बस्ने संवैधानिक र नैतिक आधार समाप्त भएको छ’, पराजुलीले भन्नुभयो ।