जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार ०१:०२

गैरआवासीय नेपाली संघको बिश्व सम्मेलन स्थगित, पराराष्ट्रको पत्रमाथि कानूनी उपचारमा जाने निर्णय


काठमाडौं, असोज २५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । आइतवार बसेको संघकोबैठकले यस्तो निर्णय गरेको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिनाभित्र महाधिवेशन र निर्वाचन गर्ने गरी तोकिएको महाधिवेशन स्थगित गरिएको हो ।

प्रवक्ता क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् ।भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने निर्णय समेत गरेको छ ।

संघको महाधिवेशन यही अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो । तर गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्यासी कुल आचार्य समूहका केही व्यक्तिहरुले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा विवाद गर्दै उजुरी गरेपछि मन्त्रालय अधिवेशन रोक्न लगतार पत्राचार गरेको थियो । संघले विधान अनुरुप ६ महिना कार्यकाल थप्ने तयारी गरेको बताएको छ । संघको नेतृत्व लिन उपाध्यक्ष बद्री केसी, रबिना थापा र सल्लाहकार आचार्य चुनावी दौडमा हुनुहुन्छ ।