जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार १९:१२

सरकार परिवर्तनमा भएको अदालती सेटिङको पर्दाफास भयो : शंकर पोखरेल


दाङ, असोज २५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सरकार परिवर्तन र पार्टी विभाजनका रहस्यहरु छर्लङ्ग भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक थारु संघले दाङको घोराहीमा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै एमाले नेता पोखरेलले यस्तो बताउनु भएको हो ।

‘अदालतको परमादेश केका लागि रहेछ भन्ने प्रमाणित भइसक्यो । नेकपा एमाले बिभाजन र सरकार परिवर्तनमा भएको अदालती सेटिङ सतहमा आइसक्यो । अब यसको बिरुद्धमा जनता उठ्नुपर्छ,’ पोखरेलले भन्नुभयो । प्रतिगमनका नाममा जनतामा छरेका भ्रमका पर्दाहरु च्यातिदै गएको पनि पोखरेलले बताउनु भयो । पोख्रेलले सरकार गठनमा प्रधानन्यायाधीशलाई भागबण्डा छुट्याएर सरकारले हिजोका जम्मै षड्यन्त्रको आफै पर्दाफास गरेको बताउनुभयो ।

‘मैले त हिजोदेखि नै भन्दै आएको हुँ एकदिन यो षड्यन्त्रको पर्दाफास हुन्छ भनेर । सरकार गठनमा प्रधानन्यायाधीशलाई भागबण्डा छुट्याएर सरकारले आफ्नो षड्यन्त्रको पर्दाफास गरेरै छाड्यो,’ पोखरेलले भन्नुभयो, ‘पार्टी बिभाजन र सरकार परिवर्तनका लागि भएका जम्मै षड्यन्त्रको पर्दाफास गर्दै अब अनुशासित र एकतावद्ध एमाले पार्टी निर्माणमा जुट्नुपर्छ ।’

फरक प्रसंगमा बोल्दै लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्रीसमेत रहनुभएका पोख्रेलले जम्बो मन्त्रीमण्डल बनाएर लुम्बिनी प्रदेश सरकारले बेतिथिको सुरुवात गरेको बताउनु भयो । आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशमा छजनाले नमुनायोग्य काम गरेर देखाएको बताउँदै पोखरेलले सत्र जनाको जम्बो सरकार बनाएर प्रदेश संरचनाप्रति बितृष्णा जगाउने काम गरेको बताउनुभयो ।

जनताप्रति भन्दा पनि गठबन्धनको सरकार नेता र पार्टीप्रति उत्तरदायी बन्दा जनताका मुद्दा ओझेलमा परेको पोखरेलको भनाइ थियो । प्रदेशका सिमान्तकृत नागरिकका लागि आफ्नो कार्यकालमा सुरु भएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम खारेज गरेको प्रति ध्यानाकर्षण भएको भन्दै पोखरेलले जनतालाई निरास बनाउने काम नगर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।