जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार १९:३८

मुगु दुर्घटनाका घाइते भन्छन-बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो थाहा छैन


नेपालगञ्ज, असोज २६ । ’बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिएँ । एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो । चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यसपछि के भयो थाहा छैन,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा निवासी हर्कबहादुर शाहको भनाइ हो यो ।

कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाखेरीको अवस्था बताउनु भएको हो । शाहको भनाइमा चालकले राम्रै चलाएका थिए । ’दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन,’ शाहले भन्नुभयो । मंगलबार अपराह्न भएको मुगु दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइएको छ । तीमध्ये चार जनाको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्याएका पाँचमध्ये तीन जनाको अस्पताल ल्याईपुर्याएलगत्तै मृत्यु भएको अस्पतालका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिनुभयो ।

यसैगरी कोहलपुर पुर्याइएका थप एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले दिनुभएको जानकारीअनुसार घाइते मध्ये ११ जना कोहलपुर शिक्षण अस्पतालमा र ५ जनालाई नेपालगन्ज शिक्षण अस्पताल पुर्याइएको थियो । सो दुर्घटनामा ३२ जनाको ज्यान गइसकेको छ । प्रहरीका अनुसार २४ जनाको घटनास्थलमै र ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंदै थियो। तीमध्ये ८ जनाको मृत्यु भएको हो । घाइते एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।