जनता टाइम्स

२९ आश्विन २०७८, शुक्रबार १०:२६

युवा नेताको दशैं : विश्वप्रकाश र योगेशको छैन टीका, गगन घुम्न निस्किने, बिना मगरले प्रचण्ड-सीतासँगै मनाउने



काठमाडौं, असोज २९ । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका प्रमुख दलका युवा नेताहरूले दसैँविशेष योजना बनाएका छन् । दसैँ हुनेले टीका लाउने र नहुने अन्य तथा घुमघाम कार्यक्रम तय गरेका छन् । न्युज कारखानाले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेताहरूसँग दसैँ योजनाबारे कुराकानी गरेको छ ।

चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु

योगेश भट्टराई, सचिव, एमाले

यसपालि मेरो दसैँ छैन । आमा बित्नु भएको भएर । चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु । तर भाइरल ज्वरोले ग्रसित भएकाले स्वस्थ भएपछि जाने सोचमा छु ।

तीन वर्षदेखि दसैँ छैन

विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन । पोहोर पनि थिएन । परार पनि थिएन । तर दसैँको रमझम लागेको छ । पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ । यसपालि विशेषत: घुमघाम, भेटघाट र अधिवेशनसम्बन्धी छलफल हुन्छ ।

गाउँमा पारिवारिक भेटघाट, पुराना आत्मिय र विद्यार्थीकालका साथीहरू भेटघाट र अधिवेशनसम्बन्धी विमर्श हुन्छ । आध्यात्मिकतर्फ म परिवारसहित मन्दिर जान्छु । दर्शनभेट हुन्छ । साथै विपन्न परिवारजनलाई पनि भेट्छु । शहीद परिवारजनलाई भेट्छु । आफ्नो जीवन देश र समाजका लागि विभिन्न समयमा र अवस्थामा जीवन गुमाउने शहीद परिवारको भेटघाटलाई अधिवेशनको प्राथमिकता दिएको छु । शहीद श्यामसुन्दर यादवको घरमा पुगिसकेको छु । पार्टीका ज्येष्ठ नेतालाई भेट्छु । दसैँ आध्यात्मिकका साथै आत्मीय बढाउने पर्व हो । त्यसकारण कसैलाई जुठो परेर आध्यात्मिक कर्म रोकियो भने पनि आत्मीयता बढाउने कर्म कुनै जुठोले रोकिँदैन ।

मेरा लागि दसैँ फुर्सदको समय पनि हो

गगन थापा, नेता, नेपाली कांग्रेस

सप्तमीको दिनसम्म पार्टीको कार्यक्रम छ । त्यसरी नै वित्छ । अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ । हामीहरूको खास एउटा गुठी छ । थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो । तर गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ । त्यसो हुँदा आफ्नै परिवार र आफन्तहरुसँग मात्रै मनाउँछौं ।

राजनीतिक दौडधूपले परिवारलाई समय दिन नभ्याइरहेका बेला मेरा लागि त फुसर्दको समय पनि हो । तीन/चार दिन सबै कुरा छोडेर घर बस्ने, मन्दिर जाने, बच्चाहरू, आमाबासँग पूर्ण समय वित्छ । अस्ति फुर्सद निकालेर केटाकेटीलाई लिएर कपडा किनेर आएँ । यसरी नै बित्छ । मैले शुभचिन्तकलाई टीका लाइदिने चलन छैन । मैले आमाबुवाबाट लाउँछु । मेरो बुवाआमासँग मेरा साथीहरु धेरै वर्षदेखि टीका लगाउनु हुन्छ परिवारजस्तै मानेर । उनीहरूसँग मेरो भेट हुन्छ । यसपालि घुमघामको योजना पनि छ । एकादशीपछि दुई दिन जतिलाई भए पनि कतै निस्किनुपर्छ भन्ने सोचेको छु । विजयादशमीको भोलिपल्ट घरमा बसेर दुई दिनलाई परिवारै उपत्यका बाहिर जाने योजना छ ।

दाजु-भाउजूको हातबाट टीका लगाउँछु

ठाकुर गैरे, नेता, एमाले

दसैँ मनाउन पाल्पा आइपुगेको छु । शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट, टिका लाउने यसरी नै बित्छ । बुवाआमा हुनुहुन्न । दाजुभाउजूको हातबाट टीका लगाउँछु । शुभचिन्तकलाई टीका लगाउने गरेको छैन । परिवारको बीचमा परिवारका सदस्यबाट टीका थाप्ने र लगाइदिने हुन्छ । मेरो घुमघामको योजना छैन । पार्टीका तर्फबाट आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन्छु । छिमेक साथीभाइ भेटघाट हुन्छ । दसैँतिहार जस्ता चाडपर्वले सामाजिक सद्भाव बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने, आफन्त, परिवारजन र साथीभाइसँग पुनर्मिलन हुनेर सुखदु:ख बाँड्ने अवसर पनि हो ।

कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ

एनपी साउद, नेता, नेपाली कांग्रेस

मेरो दसैँ जिल्लामा हुन्छ । कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ । तीर्थव्रत पनि गर्छु । एकपटक हरिद्वार गएर पूजाआजा गर्छु । गंगा स्नान गरेर विल्कुल शुद्ध भएर फर्किन्छु । साथीभाइहरूलाई शुभकामना आदानप्रदान कार्यक्रम छन् पार्टीका । सामाजिक काम पनि छन् । धार्मिक काम पनि छन् । त्यो पनि सम्पन्न गरेर परिवारसँगै दसैँ बनाउँछु । कञ्चनपुरमा जेठोदाइको हातबाट टीका लगाउँछु । शुभचिन्तक, साथीभाइहरूलाई टीका लगाइदिने, आशीर्वाद तथा शुभकामना दिने गर्छु । जनतासँग, साथीभाइसँग सांस्कृतिक रूपमा सम्बन्ध नवीकरणको अवसर पनि हो ।

घुमघामको योजना छैन, आधा समय फोन उठाउँदैमा जान्छ

विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्यामन्त्री

मेरो दसैँ काठमाडौंमा हुन्छ । बुवाबाट टीका लगाउँछु । जिल्ला (चितवन)मै बसेको भए शुभचिन्तकलाई लाइदिन्थे । काठमाडौंमा ओल्लो घरका मान्छेले पल्लो घरकालाई चिन्दैनन् । तैपनि कोही शुभचिन्तक आउनुभयो भने फरक परेन । टीका लगाइदिन्छु । घुमघामको चान्स छैन । दुई दिन कता घुम्ने, घुम्ने भने पनि जिल्ला नै घुम्ने हो । त्यो पनि सम्भावना छैन । कास्की, चितवन पुगिसके । काठमाडौंमै नातगोता दुनियाँ भेट्ने काम बाँकी छ । त्यो पनि होला । घर आउनेहरूसँग गफ गरेर बिताउनुपर्‍यो । त्योभन्दा फुर्सदको समय भयो भने पत्रपत्रिका पढ्ने, दशैँ विशेषांक हेर्दाहेर्दै समय बित्छ । आधा समय फोन उठाउनमै जान्छ । अहिले स्वास्थ्यको होसियारी गर्ने, दूरी कायम गर्ने भनेर आशीर्वाद दिनुपर्ने अवस्था छ । हामीले जसरी मनाउँदै आएका छौं त्यसरी नै मनाउने हो । माननीय हुँदा, मन्त्री हुँदा दसैँ कस्तो भन्दा उस्तै हुन्छ ।

कार्यकर्तासँग दसैँको शुभकामना आदान–प्रदान भेटघाट गर्ने हो

राजकिशोर यादव, जसपा

म दसैँमा अलि पूजापाठमा समय बिताउँछु । यसपालि राजनीतिक दौडधूप चलिरहेको छ । तथापि म ध्यान, जपमा केन्द्रित छु । यसो फुर्सद भएको बेला कुनै पुरानो किताब हातमा पर्‍यो भने पढ्छु । घटस्थापनादेखि नियमित पूजापाठ गरिरहेको छु । यो पालि दसैँ जिल्लामै हुन्छ । निर्वाचन क्षेत्रमा समय बिताउने योजना बनाएको छु । अलिकति कार्यकर्ताको बीचमा गएर दसैँको शुभकामना आदानप्रदान र भेटघाट गर्ने हो । यो पालि हाम्रो टीका हुँदैन । ‍टीका नभए पनि कार्यकर्ताहरू परिवार भएकाले उनीहरूको बीचमा हामी हुन्छौं । मेरो दशैं यसरी नै बित्छ । दसैँ शक्ति सञ्चय गर्ने अवसर हो । भागदौड जिन्दगीमा बसेर आफ्नो बारेमा जीवन जगत के गरेको छु आत्ममूल्यांकन, अध्ययन गर्ने मौका पनि हो । बाहिर भएकालाई परिवार भेट्ने अवसर पनि हो । चाडपर्वले भाइचारा र परिवारको महत्व पनि सम्झाउँछ । सकारात्मक उर्जा दिन्छ । परिवारलाई बाँधेर राख्ने नेपालीको मौलिकता, परिवारमा ज्येष्ठ नागरिकको महत्व, परिवार जोड्ने कडीको रूपमा पनि यसलाई बुझ्न सकिन्छ ।

चाडपर्वको बिदामा कार्यकर्ता भेट्ने र अध्ययन गरिन्छ

लेखनाथ न्यौपाने, नेता, माओवादी केन्द्र

व्यक्तिगत हिसाबले खास म दसैँ मान्दिनँ । यसो भन्दा धर्मान्तरको कुरा आउँछ । क्रिस्चियन भएर नमानेको होइन । सबै धर्मप्रति सम्मान गर्ने तर कुनै धर्म नमान्ने मान्छे परे । धर्मसँग जोडिएका चाडपर्वसँग म खास संलग्न हुन्न । टीका पनि लगाउँदिन । तर बहुसंख्यक हिन्दु धर्म मान्ने भएकाले यस्ता चाडपर्वले हामीलाई पनि प्रभाव पारिहाल्छ । त्यसलाई फेरि नकार्न सकिँदैन । अब चाडपर्वको फुर्सद बिदामा कार्यकर्ता भेट्ने, अध्ययन गर्ने काम हुन्छ ।

टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु

बिना मगर, नेतृ, माओवादी केन्द्र

दसैँ काठमाडौंमै हुन्छ । ममी (सासूआमा) विरामी हुनुहुन्छ । जिल्ला (कञ्चनपुर) जाँदिन । यहीँ खुमलटार घरमै हुन्छ । टीका लाउने स्पेसल केही छैन । यसपालि बुवा आमासँगै घरमै हुन्छु । घुम्ने र अध्ययनको केही प्लान छैन । बरु दसैँपछि फिल्डमा जाने भन्ने छ । दसैँ त प्रोपर्ली घरमै हुन्छ । म भेजिटेरियन भएकाले मासु चल्दैन । त्यस्तो विशेष छैन । टीका पनि लाउँदिन । यसपालि बच्चाहरूसँगै घरमै रहन्छु । घरपरिवार भेट हुने रमाइलो हुने पारिवारिक जमघट, सुखसुविधा, सुखी हुन्छन् । सबै परिवारका सदस्य घरमा केन्द्रित हुने राम्रो अवसर हो ।

घरमै पिताजी, आमा, काकाहरूबाट जयन्ती धारण गर्छु

डा. सुरेन्द्र झा, नेता, लोसपा

पहाड र मधेसको दसैँमा केही फरक छ । पहाडमा पारिवारिक फेस्टिभल, इभेन्टका रूपमा लिइन्छ । मधेसमा सामाजिक इभेन्टका रूपमा लिइन्छ । नौ दिनसम्म भगवतीको उपासना गर्ने चलन हुन्छ । प्राय: मान्छे व्रत बसेर भगवतीको स्तुति रुद्रीपाठ गर्ने चलन हुन्छ । घटस्थापनामा राखेको जयन्ती जात्राको दिन काटेर भगवतीलाई अर्पण गर्ने घरको ठूलो मान्छेले सानोलाई लगाइदिएर आशीर्वाद दिने चलन छ । दसैँ सरसफाइ, भाइचारा, आर्थिक, धार्मिक क्रियाकलाप, उपसनासँग जोडिएको छ । यो सामाजिक पर्वको रूपमा मधेसमा लिने गरिन्छ । दसैँ मेरा लागि परिवारलाई समय दिने, इष्टमित्र भेट्ने, धेरैभन्दा धेरै गाउँ समाजको मान्छेलाई भेट्ने, पार्टीका नेता कार्यकर्ता भेट्ने, शुभकामना आदानप्रदान गर्ने अवसर हो । अन्य दलका साथीहरूसँग पनि भेट हुने, भएको रिसराग र दूरी घटाउने अवसर पनि हो । सर्वपक्षीय, सर्वदलीय र सामाजिक समस्याहरूको बारेमा पनि चिन्तन मनन गर्ने एउटा अवसर हुन्छ ।

दसैँ, तिहार, दीपावली, छठसम्म आफ्नै जिल्लाको क्षेत्रमा बस्छु । क्षेत्रमा अली बढी समय दिन्छु । जिल्लाको अन्य क्षेत्रका कार्यक्रममा पनि सहभागिता जनाउँछु । मधेसमा टीका लगाउने प्रथा छैन । यहाँ जात्राको दिन बडादसैँमा जयन्ती लाउने चलन छ । सिरहाको मिर्चैयास्थित घरमै पिताजी, आमा, काकाहरूबाट जयन्ती धारण गर्छु । दसैँलाई मधेसमा दान, योगदान गर्ने, मठमन्दिरको मर्मत गर्ने, सामाजिक थलोहरू पार्टीपौवा, बाटोघाटो सरसफाइ गरेर योगदान पर्वका रूपमा पनि लिइन्छ । दसैँमा हुने १० दिनको नवरात्रामा सबै जातजाति, भेषभूषा सबै आवश्यकता पर्ने भएको हुनाले झाकी बनाउनेदेखि मार हान्ने जातसम्म सबैको सहभागिता हुन्छ । जसले जातभातको जुन विभेद छ त्यसलाई पनि अन्त्य गर्न भूमिका खेलेको देखिन्छ । (न्युज कारखाना)