जनता टाइम्स

३० आश्विन २०७८, शनिबार १३:५५

मलिका महत : फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट


काठमाडौं, ३० असोज । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् । फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् ।

’फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ । तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ ।

केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।