जनता टाइम्स

९ असार २०७६, सोमबार १०:४४

बढ्यो प्रहरीको रासन भत्ता, कुन जिल्लामा कति बढ्यो ?


काठमाडौं, असार ९

पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउनेछन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भन्नुभयो, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

नेपाल प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइनेछ । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ । तर, ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन । बढेको भत्ता पाउनुपर्ने प्रहरीले माग गर्दै आएको थियो । राशन वृद्धि भएपछि प्रहरीको मनोबल बढ्ने प्रहरी अधिकारीहरू बताउँछन् । तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको समितिले दुई–दुई वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो । सोही सुझाव अनुसार प्रहरीको रासत भत्ता बढाइएको हो ।

उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हाल उनीहरूले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् । त्यस्तै, झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकामा दुई सय रुपैयाँ पाउनेछन् । ताप्लेजुङको ओलाङचुङगोलामा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएका थिए । उनीहरूको रासनभत्ता बढेर अब ६ सय १५ रुपैयाँ पाउने भएका छन् । पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्न महँगो हुने भएकाले रासनको दर पनि उच्च रहेको छ ।

सशस्त्र र अनुसन्धान विभागमा अन्योल

नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भए पनि सशस्त्र प्रहरी बलमा अन्योल छ । सशस्त्रलाई पुरानै रेटअनुसारको मात्र बजेट विनियोजन भएको छ । रासनभत्ता सममामयिक बनाउन प्रस्ताव गरिएको, तर त्यसबारे कुनै निर्णय भइनसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताउनु भयो । त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको रासनभत्ता वृद्धिबारे पनि कुनै निर्णय भएको छैन।