जनता टाइम्स

२ कार्तिक २०७८, मंगलवार ११:५४

पहिरोमा पुरिएर २ जनाको मृत्यु, सडक अवरुद्ध, सयौं घर डुवानमा


काठमाडौं, कात्तिक २ । डडेलधुरा, गन्यापधुरा गाउँपालिका १ भात्काडा बस्ने ३२ वर्षीय बिष्णु अवस्थीको पहिरोमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु भएको हो ।

पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पसल पूर्णरुपमा क्षति भएको छ ।

यस्तै कालिकोटको महाबै गाउँपालिका ७ राम्नी बस्ने बिष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उहाँकै छोरी १८ वर्षीया स्मृती अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ । साथै उहाँकै १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छिन् ।
यसैगरी बझाङ, बित्थडचिर गाउँपालिका २ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बित्थडचिरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

यता, कञ्चनपुरको भिमदत्त नगरपालिका १२ ओदाली र दोधारा चादनी नगरपालिका १० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा अविरल बर्षा कारणले माहाकाली नदीमा पानीको सतह वढ्दा करिब २ सय घर डुबानमा परेका छन् । डुबान परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गड्डा चौकी र ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।