जनता टाइम्स

३ कार्तिक २०७८, बुधबार १५:१७

प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?


काठमाडौं, ३ कात्तिक । अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्नुहुन्छ । उहाँले निर्वाह गर्नुभएको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ । फिल्म लुटबाट आफ्नो परिचिय स्थापित गर्नुभएको दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो ।

दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुईमत नहोला । थियटर हुँदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेतामध्येका एक हुन् । तर, उहाँ प्रचारप्रसारमा त्यति धेरै देखिँनु हुँदैन । साथै, उहाँलाई प्रचारप्रसारमा समय नदिने कलाकार भनेर केही निर्माताले आरोप पनि नलगाएका होइनन् ।

आखिर किन दया प्रचारप्रसारमा टाढिन्छन् त ? दया भन्नुहुन्छ, ‘आफ्नो कामको आफैँले बयान गर्ने कुरा मलाई निकै गाह्रो लाग्छ ।’ उहाँले थप्नुभयो ‘कामको प्रतिक्रिया लिएर बहस गर्न सकिन्छ । तर, आफ्नो कामको एकोहोरो बखान गर्नु राम्रो होइन ।’ उहाँले आफूले गरेको भूमिकालाई दर्शकले मुल्यांकन गर्नुपर्ने बताउनुभयो । ‘हामीले दर्शकको महत्वकांक्षा बढाउने गरि प्रचारप्रसार गर्नु हुँदैन’, दया भन्नुहुन्छ, ‘त्यसैले म एकोहोरो प्रचारप्रसारमा धेरै सक्रिय छैन ।’

तर, उहाँ दर्शकसमक्ष भने पुग्नेमा दुईमत राख्नुहुँदैन । ‘दर्शकसँग पुग्दा कन्टेन होस् र त्यसमा तर्कवितर्क गर्न पाइयोस्’, दया भन्नुहुन्छ, ‘अब दर्शकलाई कन्टेन चाहिएको छ न कि बखान ।’ कलाकारले काममै विश्वास राख्नुपर्छ भन्ने सोच्ने दया निकट भविष्यमै फिल्म निर्देशन गर्ने सोचमा हुनुहुन्छ ।

नाटक निर्देशन गरिसक्नुभएको उहाँले फिल्म कहिले निर्देशन गर्छन् ? यो भने पर्खाइकै विषय छ । यसका साथै उहाँ ‘कबड्डी ४’ को छायांकनको तयारीमा हुनुहुन्छ । उहाँलाई ’काजी’ उपनाम दिएको कबड्डीको चौथो भागलाई ’फाइनल म्याच’ भनिएको छ । मौसमले साथ दिए छायांकन टिमसहित उहाँ यसैसाता मुस्ताङ पुग्नुहुनेछ ।