सुर्खेत, ३ कात्तिक । नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगी गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताउनुभयो ।
‘भट्टराईका साथबाट नक्कली डीएसपीको परिचयपत्रसमेत बरामद भएको छ,’ उहाँले भन्नुभयो,‘महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने नक्कली डीएसपी सुर्खेत आसपासका क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।’
कालो रंगको गाडीमा हिँड्ने भट्टराईको हाउभाउ हेर्दा जो कोहीले पनि प्रहरीकै डीएसपी होला भनेर सहजै अनुमान गर्ने गरेको ठगिएका पीडितहरूले बताएका छन् । पक्राउ परेका भट्टराईलाई सुर्खेत प्रहरीले आजै हवाईजहाजबाट महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौं पठाएको छ ।













प्रतिक्रिया दिनुहोस्