जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार ०९:२९

आजको मौसम अपडेट : कहाँ–कहाँ सचेत रहन जरुरी


काठमाडौं, कात्तिक ४ । काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरुका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

आज राति देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा र पहिरोको सम्भावना अब नरहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन परेको निरन्तरको भारी वर्षा गराउने प्रणाली बााहिरिसकेकाले अब ठूलो वर्षा हुने छैन ।

“काठमाडौंमा आज बिहानबाट घाम लाग्न थालिसकेको छ । घाम पूर्णरुपमा नलागेर बदली भए पनि अब भारी वर्षा हुने छैन,” पौडेलको भनाई छ । “यस अघिको प्रणालीको केही छुटपुट अंशका कारण बदली र वर्षा भए पनि त्यसले ठूलो वर्षा हुँदैन । छिटपुट वर्षा मात्रै गराउने छ ।”

हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको उहाँले बताउनुभयो ।