जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १४:५३

पहिरो प्रभावित क्षेत्रमा नपुगी हेलिकोप्टरबाट हेरेर फर्किए प्रधानमन्त्री


धनगढी, कात्तिक ४ । बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आउनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्कनुभएको छ । बिहीबार डोटी हुँदै बझाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर पहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अवलोकन गरेर उहाँ बैतडीतर्फ लाग्नुभएको हो ।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले आकासबाटै पहिरो अवलोकन गर्नुभएको हो ।

‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३–४ पटक अवतरण गर्ने प्रयास गरियो,’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भन्नुभयो, ‘तर असफल भएपछि उहाँ बैतडीतर्फ जानु भएको छ ।’