जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १९:०१

गठबन्धनले स्वीकार गर्ला त एमालेको यो चुनौती ?


हेटौंडा, कात्तिक ४ । बाग्मती प्रदेशका सत्तारुढ दल नेकपा एमालेले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा जान चुनौती दिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेका प्रदेशसभा सांसद रामेश्वर फुयाँलले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा गएर जनताको विश्वास मापन गर्न चुनौती दिनुभएको हो ।

एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गरेको भन्दै फुँयालले अहिले पनि जनताको विश्वास एमालेमाथि नै रहेको ठोकुवा गर्नुभयो । विपक्षी गठबन्धनले लगाएको आरोप खण्डन गर्दै उहाँले भन्नुभयो, ‘म विपक्षी गठबन्धनलाई भन्न चाहन्छु, ताजा जनादेशमा जाऔँ र जनताको विश्वासको परीक्षण गरौँ ।’

आजको बैठकमा अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेको प्रस्तावमाथिको छलफलमा उहाँले यस्तो चुनौती दिनुभएको हो । तर, माओवादी केन्द्र, कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धन सो प्रस्तावको विपक्षमा उभिएका छन् ।

उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव गर्नुभएको छ । प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा एकीकृत समाजवादीसँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।