जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार २०:२४

देउवासामू झुक्न बाध्य भए माधव, बागमतीमा आधा कार्यकाल कांग्रेसलाई नेतृत्व


काठमाडौं, कात्तिक ४ । बागमती प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा आधा कार्यकाल आलोपालो गर्ने भएका छन । आज प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय दुई पार्टीका संसदीय दलका नेताले सरकारको नेतृत्व गर्ने सहमति गरेका हुन ।

बैठकमा प्रदेशसभाको आधा कार्यकाल एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने र बाँकी आधा कार्यकाल कांग्रेसका ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित केन्द्रमा सत्तारुढ गठबन्धनका नेताहरुले निर्देशन दिएपछि यस्तो सहमति भएको हो । यसअघि मन्त्रिपरिषद गठन गर्दा प्रदेश १ र बागमतिमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सहमति भएको थियो । तर कांग्रेसले नमानेपछि माधव नेपाल प्रधानमन्त्री देउवाको अडानसामू झुकेर आधा आधा कार्यकाल बाँडन तयार हुनुभएको हो ।

हाल बागमतीमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनुहुन्छ । उहाँले आजै बिश्वासको मत माग्नुभएको छ । उहाँले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन छ । अब उक्त प्रस्तावमा कात्तिक १० गते मतदान हुनेछ । प्रदेशसभाको कार्यकाल अव १३ महिना पनि बाँकी छैन । २०७४ मंसिरमा प्रदेशसभा निर्वाचन भएको थियो । यति छोटो समयमा आधा आधा कार्यकाल मुख्यमन्त्रीको सहमति गरी गठबन्धनले प्रदेश बनाउने भन्दा पनि मुख्यमन्त्रीको फोटो फेर्ने बाटोतिर लागेको प्रष्ट देखिएको छ ।