जनता टाइम्स

९ असार २०७६, सोमबार १५:२१

तीनै तहका सरकारबीचको समन्वयले मात्रै विकास र समृद्धि सम्भव हुन्छ : प्रचण्ड


चितवन, असार ९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघ, प्रदेश र स्थानीय, तहको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनु भएको छ । माडी नगरपालिकाको तेस्रो नगरसभा उदघाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताउनुभयो ।

‘ तीनै तहका सरकारबीचको समन्वयले मात्रै विकास र समृद्धि सम्भव हुन्छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो । अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको पनि उहाँको भनाइ थियो । कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने प्रचण्डले बताउनु भयो । पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अध्यक्ष प्रचण्डले अव जनताले विकासमा परिवर्तन चाहेको बताउनुभयो ।

पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको यथार्थ पनि उहाँले राख्नुभयो । ‘पुराना ऐन, कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन,’ प्रचण्डले चन्नुभयो । माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उहाँले समस्या समाधान गर्दैअघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको बताउनुभयो ।

‘निकुञ्ज ऐन २०२९ जनताको आवश्यकतालाई महसुु नभइ जनावरको आवश्यकतालाई महसुश गरेर ल्याइएको थियो, अव त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुनेगरी ल्याउने तयारी भइरहेको छ,’ प्रचण्डको भनाई थियो, ‘ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशी निकायसँग छलफल भइरहेको छ ।’

अध्यक्ष प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमतिअनुसार काम अघि बढाउन लागिएको जानकारी पनि दिनुभयो । सोही सहमतिअनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा १० करोड रुपैयाको उद्यान निर्माणको तयारी थालेको उहाँले बताउनुभयो ।

‘द्वन्द्वकालमा भएको ठूलो दुर्घटनाका पीडितलाई सबै तह मिलेर सहयोग गर्नु आवश्यक छ,’ प्रचण्डले भन्नुभयो । आफ्नो योजना माडीलाई मणि बनाउने रहेको भन्दै उहाँले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । सबैको सहयोग भएमा केही वर्षमा माडीमा ठूलो परिवर्तन गर्न सकिने उहाँको भनाइ थियो ।

मेयर ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीलगायतले बोल्नुभएको थियो । माडी नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रुपैयाको बजेट पेश गरेको छ । जसमा चालुतर्फ १९ करोड ५० लाख र पूँजीगततर्फ ७३ करोड २० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।