जनता टाइम्स

९ असार २०७६, सोमबार १८:०२

बनमन्त्री शक्ति बस्नेतबिरुद्ध खनिए गगन थापा : बनको दोहन गरी यार पोस्न खोजेको जिकिर


काठमाडौं, असार ९

नेपाली कांग्रेसका नेता गगन थापाले बनमन्त्री शक्ति बस्नेतले मुलुकको बन क्षेत्र नष्ट गरी ‘यार’ लाई पोष्ट खोजेको भन्दै गम्भीर आरोप लगाउनु भएको छ । थापाले मन्त्रीका यार पोस्नकै लागि वन मन्त्रालयले संविधान विपरित संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमनसम्बन्धी कार्यबिधि ०७५ जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको भन्दै कडा आपत्तिसमेत जनाउनु भएको छ ।

प्रतिनिधीसभाको आजको बैठकमा बोल्दै थापाले वनमन्त्री बस्नेतले संविधान र ऐन विपरीत ‘यार’ पोस्न सक्रिय भएको बताउनु भयो । ‘यो कार्यबिधिले खप्तडमा रिसोर्ट, ढोरपाटनदेखि शिवपुरीसम्म रिसोर्ट र होटल, लाङटाङ, गौरीशंकर, मनास्लु, सगरमाथादेखि रारा तालसम्म होटल रिसोर्टहरु खोल्न पाइन्छ, यी ठाउँहरुमा केवलकार सञ्चालन हुनेछन, रोपवे चल्नेछन, माउन्टेन फ्लाइटसम्म चल्नेछन् । यो सोच नै गलत छ । यसरी दोहन गर्दा कुनै पनि स्रोत बाँकी रहँदैन,’ थापाको भनाई थियो ।

उहाँले मन्त्री बस्नेतलाई संसदमा उपस्थित गराउन समाभमुखसँग मागसमेत गर्नुभयो । संसदले ऐन बनाउने, ऐनमा के गर्ने भनेर तोकेपछि मात्र नियम र कार्य्विधिले कसरी गर्ने भन्ने कुरा तोक्न पाइने भन्दै थापाले मन्त्री बस्नेतले त्यसविपरीत ऐनमै नभएको कुरा कार्यबिधिमा ल्याएको ठोकुवा गर्नुभयो ।