काठमाडौँ, कार्तिक ६ । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर ६७४३ वडा अधिवेशन सुरु भएको छ ।वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ ।चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।
एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ । आजै ६ हजार भन्दा बढी वडामा एमालेको नयाँ नेतृत्व आउने छ। यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन ।













प्रतिक्रिया दिनुहोस्