सुनसरी, कार्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आउनुभएको छ । उहाँले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढीपहिरो र डुबान प्रभावित जिल्लाको अवस्थाबारे जानकारी लिनुभयो।
प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय गरे पनि उहाँ पीडितलाई नभेटी हेलिकप्टरबाट मन्त्रीहरूको जम्बो टोलीका साथ प्रभावित क्षेत्रमा घुम्नुभएको हो ।
उहाँसँगै डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ आउनुभएको छ । बिहानै सुनसरी आउनुभएका देउवाले सशस्त्र प्रहरी बल पकलीमा सप्तरी सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्यांक लिनुभएको थियो । उहाँले प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिवबाट पनि प्रदेशको अवस्था बारे जानकारी लिनुभएको थियो ।
विपत्तिको समयमा केही राहतको प्याकेज ल्याउलान् भन्ने आश गरेका बाढीपीडितले प्रधानमन्त्री देउवाले काठमाडौं फर्केर राहत प्याकेज घोषणा गर्ने आश्वासन मात्रै बाँडे । करिब पाँच मिनेट बोलेका देउवाले बाढीपीडितलाई यसअघि नै आर्थिक सहयोग गरेको बताउँदै काठमाडौँ फर्किएर मन्त्रीस्तरको बैठकबाट राहतस्वरूप गिफ्टको व्यवस्था गर्ने बताउनुभयो। उहाँले बाढीले पुर्याएको मानवीय तथा धनमालको क्षतिप्रति दुखित रहेकोसमेत बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्