जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १३:४२

ओलीसँगै किन पूर्वको यात्रामा निस्किए प्रधानमन्त्री देउवा ? यस्तो छ भित्री कारण


काठमाडौं, कात्तिक ७ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा नेकपा माओवादी केन्द्रका ठूलो समुहलाई पार्टीमा स्वागत गर्न भद्रपुर बिमानस्थल ओर्लनुभयो ।

झापामा आज माओवादी केन्द्रका नेता–कार्यकर्तालाई स्वागतसहित तीन दिने पूर्व बसाईको योजना बनएर ओली भद्रपुर बिमानस्थल ओर्लनु भएको केही समयमै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रदेश १ को यात्रा तय गर्दै बिराटनगर बिमानस्थल ओर्लनुभयो । मुलुकमा पछिल्लो समय कायम ध्रुविकरणबाट दुई कित्ताका प्रमुख नेता ओली र देउवा एकै दिन प्रदेश १ को यात्रामा निस्कनुलाई धेरैले अर्थपुर्ण रुपमा लिएका छन ।

अर्थपूर्ण यसकारण पनि मानिएको छ कि आजै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बिश्वासको मत लिने समय तय गर्नुभएको छ । जहाँ नेपाली कांग्रेसका सांसदहरुले फ्लोर क्रसको आशंकामा बिश्वासको मत लिने समय सार्न प्रदेशसभा सचिवालयलाई निवेदन नै दिइसकेको छ । एमाले अध्यक्ष ओली पूर्वनिर्धारित कार्यक्रमअनुसार नै आफ्नो गृहजिल्ला र प्रदेश जानुभएको उहाँको सचिवालयले जनाएको छ भने देउवाको आजकै लागि भ्रमण तय गरिएको बिषय भने निकै रोचक छ ।

शनिवारसम्म पूर्व जाने कुनै कार्यक्रम नभए पनि प्रदेश १ का कांग्रेसकै सांसदहरु एमाले सरकारलाई बिश्वासको मत दिन तयार भएको सूचना पाएपछि देउवा त्यसतर्प लाग्नुभएको स्रोतले बताएको छ । आफ्नो सांसदलाई कडाई नगरे प्रदेश १ को सरकारले बिश्वासको मत पाउन सक्ने सूचना पाएपछि बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको बहाना बनाएर प्रधानमन्त्री देउवा प्रदेश १ जानुभएको स्रोतको भनाई छ । कांग्रेससँगै एमालेले पनि बैठक स्थगित गर्न पत्र बुझाएको छ । दुवै नेता पूर्व पुगेको बेला दुवै दलले प्रदेशसभा बैठक स्थगन गर्न माग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।