काठमाडौं, कात्तिक ८ । आइतबार भद्रपुर विमानस्थल हुँदै गृहजिल्ला झापा आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सीधैँ पिता मोहनप्रसाद ओलीसँग भेटन पुग्नुभयो । जहाँ ९३ वर्षीय पिताका साथै भाइ जयप्रकाश र बुहारीको परिवार बसिरहनु भएको छ । अध्यक्ष ओली जहिल्यै झापा आउँदा पिता भेट्न भद्रपुर १ स्थित पृथ्वीनगरको घरमा पुग्नुहुन्छ । २०५४ सालपछि बनेको दुई तले घरमा ओली आउँदा छरछिमेकदेखि नेता कार्यकर्ताको चहलपहल हुन्छ ।
यसपालि त्यस्तै चहलपहल थियो । घरमा बुढा बा भएकाले उहाँका समकालीन एवं संगतमा रहेका वृद्ध पनि ओली आउने भनेपछि भेला भएका थिए । भद्रपुर विमानस्थलबाट घर पुगेपछि ओलीले झण्डै पौने घण्टा बुवा तथा छरछिमेकसँग भेटघाटमा बिताउनु भयो । ओलीले परिवारका सदस्यदेखि छिमेकी र नेता कार्यकर्तासँग हालखबर सोध्नेदेखि फोटो खिचाउनेसम्म सहज रुपमा गर्नुभयो । एकातिर ओली अर्कोतिर उहाँका पिता मोहन बसेर भलाकुसारी गर्नुभयो । ओलीलाई भेटेका छरछिमेकको भनाइमा ओलीले सञ्चोबिसञ्चो हाल खबर सोध्नुभयो । उपस्थित स्थानीयका गुनासा पनि सुन्नुभयो ।
वृद्ध छिमेकी कर्णबहादुर कार्कीले ओलीले सञ्चोरविसञ्चो सोधेको बताउनु भयो । छिमेकी मन्दिरा कोइरालाले पनि ओली जहिल्यै आउँदा भेट हुने गरेको र गाउँलेका गुनासो सुन्ने गरेको बताउनुभयो । पिता मोहनप्रसादले केपीले राम्रै छ भनेर सोधेको बताउनु भयो । आफ्नो छोरासँग बेलाबेला कुरा हुने गरेको र काठमाडौं बोलाउने गरेको पनि उहाँले बताउनुभयो । ‘तर म काठमाडौ जान्न । उता घुम्न पाइन्न । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेलाबेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन,’ उनले सुनाए ।
मोहनले केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग रहेको पनि बताउनु भयो । ‘मेरो आशिर्वाद पनि छ । भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एमाले पहिलो पार्टी हुन्छ । एकदम राम्रो योग छ । सफल होस्, मेरो शुभकामना छ,’ बुवा मोहनले भन्नुभयो ।मोहनले छोरा फेरि प्रधानमन्त्री हुने बताइरहँदा घरभित्रबाट निस्किएका अध्यक्ष ओलीले ‘बुवा म जान्छु है’ भनेर नमस्ते ढोग गरेर विदा हुनुभयो । मोहनले राम्ररी गएस् भनेर आशिर्वाद दिनुभयो ।

पितासँग विदा मागेर जब ओली निस्नुभयो, त्यतिकैमा स्थानीय छिमेकी कुमारी लिम्बू भेट्न आइपुग्नुभयो । उहाँले हेर्ने भन्दै मास्क खोल्न लगाउनु भयो । सधै फोटोमा मात्रै देखेको भन्दै आग्रह गरेपछि ओलीले मास्क मात्र खोल्नुभएन, नजिकै बोलाएर तस्बिर पनि खिचाउनु भयो । सँगै कलाकार विल्सन विक्रम राईले पनि तस्बिर खिचाउनु भयो । कुमारीका छोरालाई पनि ओलीले बोलाएर तस्बिर खिच्नुभयो अनि के कसो भनेर हालखबर सोध्नुभयो । अनि ओली पिताको घरबाट बिर्तामोडतिर कार्यक्रममा लाग्नुभयो ।













प्रतिक्रिया दिनुहोस्