जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार २२:००

होटलमा काम लगाइदिने भन्दै यौन शोषण


पोखरा, कार्तिक ८ । कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । होटलमा यौन शोषण गराएको आरोपमा पोखरा -१७ बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी १ का २६ वर्षीय ऋषि भट्ट पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार उनीहरूले महिलाहरूलाई काम लगाइदिने बहानामा पोखरा – ०६ लेकसाइडस्थित होटल ड्रिमल्याण्ड होटलमा लगी डर तथा धाक धम्की देखाएर यौन शोषण गराउँदै आएका थिए ।आइतबार पक्राउ परेका उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।