जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार ०८:५१

प्रधानन्यायाधीशबिरुद्धको अभियान आफूले भनेअनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो : प्रदीप ज्ञवाली


काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा देखा परेको गुटबन्दी, विग्रह र चरम अराजकताको कारक असार २८ को परमादेश नै रहेको टिप्पणी गरेको छ । प्रधानन्यायाधीशविरुद्ध अदालतभित्र र बाहिरबाट भइरहेको बहिर्गमनको दबाबप्रति मुख खोल्दै एमालेले सत्ता गठबन्धन र अदालतको अपवित्र गठबन्धनको परिणाम देखिएको दावी गरेको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एक वक्तव्यमार्फत एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य अदालतका विकृति अन्त्य गर्ने नभएर झनै संस्थागत गर्ने र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नुमात्र रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ , ‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर्‍यो। निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने । यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति।’

प्रवक्ता ज्ञवालीले ‘युज एण्ड थ्रो’ अभियानले भोलि अरुलाई पनि चोलेन्द्रशमसेर जबरालाई जस्तै शिकार बनाउने बताउनुभएको छ। अदालतले सत्ता गठबन्धनको अनुकुल फैसला गरिदिने र सट्टामा गठबन्धनले कसैलाई मन्त्री र कसैलाई तक्मा दिने गरेको परिणाम अहिले देखिएको आरोप समेत लगाउनुभएको छ ।

यस्तो छ प्रवक्ता ज्ञवालीको बिचार

सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर् यो। निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने- यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति। एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘ युज एण्ड थ्रो’ यस अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउनेछ।