दोलखा, कात्तिक ९ । दोलखाको जिरी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमालें) को अध्यक्ष सर्वसम्मत चयन गरिएको छ । हाट डाँडामा आज भएको प्रथम अधिवेशनले केशव कुमार कार्कीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको हो । त्यस्तै उपाध्यक्षमा मिंमा शेर्पा, सचिव भुपेन्द्रराज सुनुवार, सह–सचिव पदेमान जिरेल र कृष्ण कुमारी तामाङ सर्वसम्मत चयन हुनुभएको हो ।
नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रतिनिधि सभा सांसद एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वर चन्द्र पोखरेल, वाग्मती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सांसद शान्ति पाख्रिनलगायतले माला र टीका लगाई बधाई तथा शुभकामना दिनुभयो ।
प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व मन्त्री गुरुङले जिरीमा नेकपा एमाले थप बलियो भएको बताउनुभयो । कमिटीहरुमा सर्वसम्मत नेतृत्व चयनले पार्टीमा कुनै मतभेद नभएको बताउँदै उहाँले आगामी दिनमा एमाले झनै सशक्त हुने र फेरि पनि जिरीमा एमालेले नै जित हासिल गर्ने दावी गर्नुभयो । ‘सुर्य चिन्हबाट चुनाव जित्नेहरुले नै सुर्य चिन्हलाई धोका दिएर नेकपा एमालेलाई कमजोर बनाउन लागेकाले तिनीहरूलाई जनताले साथ दिँदैन ।’ उहाँले भन्नुभयो, ‘केही महिना भित्रै जनताले यिनिहरुलाई साइड लगाउँछ ।’
९ वटा वडा रहेको जिरीमा वडा कमिटी यसअघि नै सर्वसम्मत चयन भइसकेको छ। जसअनुसार वडा नम्बर–१ स्यामा वडा कमिटीको अध्यक्षमा करफिन्जो शेर्पा, वडा नम्बर–२ को वडा कमिटी अध्यक्षमा सोमतेम्बा शेर्पा, वडा नम्बर–३ को वडा अध्यक्षमा राम बहादुर केसी, वडा नम्बर–४ को वडा अध्यक्षमा शिव बहादुर कार्की, वडा नम्बर–५ को वडा अध्यक्षमा गुञ्ज बहादुर कुँवर, वडा नम्बर–६ को वडा अध्यक्षमा लिला बहादुर जिरेल, वडा नम्बर–७ को वडा अध्यक्षमा लिला जिरेल, वडा नम्बर–८ को अध्यक्षामा गम्बु विक र वडा नम्बर–९ को वडा अध्यक्षमा चक्रबहादुर तामाङ रहेका छन् ।
प्रत्येक वडा कमिटीमा पाँच पदाधिकारी सहित ३१ सदस्य रहेको छ। नगर अधिवेशनकै अवसरमा नेकपा माओवादी र नेपाली कांग्रेस परित्याग गरि तीन दर्जन बढि नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । सबैलाई सांसद गुरुङले पार्टीमा खादा र टिका लगाई स्वागत गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्