जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार ०८:३०

केपी ओलीलाई लाग्यो चुनाव, गृहजिल्लाबाट माहोल तताउँदै


काठमाडौं, कात्तिक १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिनु भएको छ । वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आउनु भएका एमाले अध्यक्ष ओली गृहजिल्ला झापा भ्रमणबाट चुनावी तयारीमा लागेको प्रष्ट सन्देश दिनुभएको हो । अध्यक्ष ओलीले मंगलवार भएको पालिका अधिवेशनको उदघाटनमा चुनावी तयारीलाई थप ब्याख्या गर्दै अव मुलुक निर्वाचनतिर गएको बताउनु भएको छ ।

सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने लवइङ गर्दै आएको र गत साता गृहप्रदेश सुदूरपश्चिम जाँदा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ताजा जनादेशबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएपछि ओली झनै हैसिनुभएको छ । किनकि अहिल्यै अवस्थामा वैशाखभित्र मध्यावधि चुनाव भएमा कांग्रैस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा आफ्नो पार्टी एमालेले अगाडि हुने एमालेको आँकलन छ । सत्ता गठबन्धन चुनावी गठबन्धनमा परीणत नहोस भन्ने चाहना पनि देखिन्छ।

आगामी वैशाखभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने प्रस्ताव निर्वाचनआयोगले गरिसकेको छ । चुनावको खर्चमा मितव्ययिता अपनाउन तीन तहकै चुनाव एकैपटक गर्नुपर्ने माग पनि उठिरहेका बेला ओलीले गृहजिल्ला झापाबाट चुनावी माहोल अघि बढाउनु भएको छ ।

एमाले झापाका जिल्ला अध्यक्ष चिन्तन पाठककाअनुसार पछिल्लो समय ओलीको गृहजिल्ला आउजाउ बढेको छ । पछिल्लोपटक दुईदिवसीय यात्राका क्रममा आइतबार झापा पुगेका ओलीले भाषणभन्दा पनि भेटघाट तथा अरुको कुरा सुन्नमै समय व्यतित गर्नुभयो । भद्रपुर विमानस्थल हुँदै ओली सुरुमा आफ्नो पिता मोहन ओलीको निवास भद्रपुर १ पृथ्वीनगर पुग्नुभयो । जहाँ उनका ९३ वर्षीय पिता मोहनसँगै भाइ बुहारी बस्नुहुन्छ ।

ओली आफ्नो पुर्ख्यौली निवास पुग्दा उक्त घर पार्टी कार्यालयजस्तै देखिन्थ्यो । आफन्त, छरछिमेक र नेता कार्यकर्ता तथा शुभचिन्तकको भीड लागेको थियो । ओलीले भ्याएसम्म शुभचिन्तक तथा छिमेकीसँग तस्बिर खिचाउने र सञ्चोबिसञ्चो भलाकुसारी गर्नुभयो । कतिसम्म भने एकजना महिला शुभचिन्तक कुमारी लिम्बुले सधै फोटोमा मात्रै देखेको भन्दैमास्क खोल्न आग्रह गर्दा ओलीले मास्कमात्रै खोल्नुभएन नजिकै बोलाएर तस्बिर पनि खिँचाउनु भयो । के कसो भनेर हालखबर सोध्नुभयो ।

त्यहाँबाट बिर्तामोडस्थित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका ओलीले चुनावी शैली अपनाउनु भयो । एकातिर सुवास नेम्वाङ, अग्नी खरेल, भानुभक्त ढकाल लगायत टीका लगाएर पार्टी प्रवेश गराउँदै हुनुहुुन्थ्यो भने अर्कोतिर ओली मञ्चमा बच्चादेखि वृद्धसम्म भेट्दै फोटो खिँच्नुभयो । दूधे बालकलाई काखमा राख्नेदेखि वृद्ध आमाबाट आशिर्वाद लिनसम्म भ्याउनुभयो । एकातिर नेताहरु भाषण गर्दै थिए भने ओलीको ध्यान नेता कार्यकर्ताका छोराछोरी बोलाएर मञ्चमै तस्बिर खिचाउने, वृद्धवृद्धाबाट आशिर्वाद लिने, युवासँग भलाकुसारी गर्नमै वित्यो । कतिसम्म भने दुईजना किशोरीले पेन्सिलले कोरेको आफ्नो चित्रसहित फ्रेम तस्बिर ग्रहण गर्न पनि ओलीले भ्याउनुभयो । किशोरीको पढाईबारे सोध्दै धन्यवाद दिनुभयो ।

कांग्रेसबाट संविधानसभा सदस्य रही एमाले प्रवेश गर्नुभएका अमृतराज रावकी वृद्ध आमाको हातबाट पनि आशिर्वाद लिनुभयो ओलीले । अमृतकी आमाले ओलीको शीरमै हात राखेर सफल हुनु, फेरि प्रधानमन्त्री बन्नु भन्ने आशिर्वाद दिनुभयो । उहाँले आशिर्वाद दिँदा टाउकोमै हात राख्दा ओलीको ढाका टोपी खल्बलियो । ओलीले टोपी उतार्नुभयो । फेरि मिलाएर लगाउनु भयो ।

यो समारोहमा ओली धेरै बोल्नुभएन । उहाँले दुर्गा प्रसाईदेखि लेखराज भट्ट, सुवास नेम्वाङसम्मबोल्न अघि सार्नुभयो । आफू थोरै बोल्नुभयो । अन्य कार्यक्रममा घण्टौं बोल्ने ओली यहाँ भने बोल्ने भन्दा अनौपचारिक रुपमा भेट्ने र अरुका कुरा सुन्नमा केन्द्रीत रहनुभयो । सम्बोधनका क्रममा पनि उहाँ विपक्षीप्रति त्यति आक्रामक देखिनु भएन । बरु एमाले पार्टी कस्तो हो, के के काम गर्योक, अब देश बनाउने एमाले नै हो, अरुले सक्तैन भन्ने खालको धारणा राख्नुभयो ।

कलाकारको प्रस्तुति

पछिल्लो झापा भ्रमणमा अध्यक्ष ओलीले काठमाडौंबाटै कलाकार पनि साथै लग्नुभएको थियो । हाँस्य कलाकार राजा राजेन्द्र अर्थात राजेन्द्र पोखरेल, गायिका पूर्णकला बिसी पनि झापा जाँदा एकै जहाजमा सँगै हुनुहुन्थ्यो । भद्रपुर विमानस्थलबाट काठमाडौं उड्न लागेका तक्मे बुढोको नामले परिचित विल्सन विक्रम राईलाई पनि फ्लाइट क्यान्सिल गर्न लगाएर रोक्नुभयो ।

बृहत् पार्टी प्रवेश कार्यक्रममा तिनै जना कलाकारले प्रस्तुति दिनुभयो । नेता कार्यकर्तालाई मनोरञ्जन गराउनुभयो । राजा राजेन्द्र र विल्सनको प्रस्तुतिमा ओली पनि कार्यकर्तासँगै रमाइलो मानेर हाँस्नुभएको थियो । यसरी चुनावी तयारीअन्तर्गत ओलीले कलाकार पनि मैदानमा उतार्नुभयो । कलाकार ओली सँगसँगै थिए ।

गृहजिल्लामा ओली आफ्नो यात्रामा क्रममा बीचरबीचमा बाटोमा गाडी रोकेर नेता कार्यकर्ता भेट्ने र संक्षिप्त संवाद गर्नमा पनि सक्रिय रहनुभयो । ओली झापा झर्दा साढे ५ हजार बढी नेता कार्यक्रम पार्टी प्रवेश गरेको एमाले झापाको भनाई छ ।

गृहजिल्लामा रहँदा ओली सामान्य उद्घाटन कार्यक्रममा पनि सरिक हुनुभयो । गौरादह नगरपालिकामा ओलीले नमूना पाहुना घर तथा नमूना ज्येष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन गनर्नुभयो । यहाँ पनि उहाँले स्थानीय उत्पादन प्रदर्शनी तथा प्रवर्द्धन गर्न आएका महिलासँग उत्पादित वस्तु हेर्दै भलाकुसारी गर्नुभयो । स्वरोजगार बनेको भन्दै प्रशंसा पनि गरे । कार्यक्रम सम्बोधनका क्रममा आफूले गरेका विकास निर्माणका कामको फेरिहस्त सुनाउनुभयो । गौरिगंजको पार्टी प्रवेश कार्यक्रममा पनि सहभागी हुनुभयो ।

सधै सुरक्षा घेराभित्र रहने, डिस्टेन्स मेन्टेन गर्ने अध्यक्ष ओली यसपालि भने गृह जिल्लामा खुलेरै शुभचिन्तक भेटघाटमा सक्रिय भएको देखिनुभयो । उहाँले गृहजिल्लाबाट आफू चुनावी तयारीमा लागिसकेको एक खालको सन्देश पनि दिनुभएको छ ।

दुईपटक संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा पनि अदालतले रोक लगाएका बेला वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला चुनाव घोषणा गर्नसक्ने आंकलन ओलीको छ । त्यसमाथि फागुनमा तीनवटै तहको निर्वाचन एकैचरणमा सम्पन्न गर्ने चर्चाले ओलीमा उत्साह ल्याएको छ । त्यसैले ओलीले आफ्नो जिल्लाबाट, आफ्नो ५ नम्बर निर्वाचन क्षेत्रबाट चुनावी माहोल तताउने जमर्को गर्नुभएको हो ।

झापामा ओलीको रणनीति बुझेका एक नेताले भने, ‘बा ले आफ्नो जिल्लामा चुनावी तयारी लगभग सिध्याइसके । अब चुनाव घोषणा भयो भने देशैभरी बा भिड्नुपर्छ । यता आउने समय हुन्न । त्यसैले उहाँ अहिले आफ्नो जिल्ला केन्द्रीत हुनुभएको छ ।’ एमालेको औपचारिक चुनावी अभियान चितवनबाट सुरुआत हुने पनि उनले बताए । १०औं महाधिवेशन एमालेको आधिकारिक चुनावी तयारी भएको उनले तर्क गरे ।

त्यसो त मंगलबार पालिका अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले तीनै तहको चुनावी तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिइसक्नु भएको छ। यसबाट पनि ओली चुनावी मैदानमा उत्रिसकेको प्रष्ट हुन्छ ।