जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १९:०७

शुल्क बढाउने निर्णय तत्काल फिर्ता लिएरु बढी शुल्क लिने कलेजमाथि कडा कारवाही गर्न अनेरास्ववियुको माग


काठमाडौं, कात्तिक १० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढि शुल्क लिएका सबै शैक्षिक संस्थाहरुलाई अविलम्ब कारवाहीसहित बढि लिएको रकम संबन्धित विद्यार्थीहरुलाई फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय अन्तरगतकै चिकित्सा शिक्षा अध्ययन गर्दा निजी शैक्षिक संस्थाहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क बिपरीत विभिन्न शिर्षकमा मनोमानी रुपमा विद्यार्थीहरुबाट बढि शुल्क उठाउने काम गरिरहेको भन्दै यस्तो माग गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजले मिति २०७८/०७/०७ गते प्रत्यक्ष रुपले विद्यार्थीहरुको ढाड सेक्ने र निजी शैक्षिक संस्था संचालकहरुलाई फाईदा पुग्ने गरी अत्याधिक मात्रामा शुल्क वृद्धि गरेकोमा गम्भिर ध्यानार्कषण भएको जनाएको हो । यस सम्बन्धमा प्रर्याप्त प्रमाणसहित विद्यार्थीहरुले पटक-पटक चिकित्सा शिक्षा आयोग, डिन कार्यालय लगायतका सरोकारवाला निकायहरुमा छानविन र कारबाहीको लागी निवेदन पेश गर्दा पनि उक्त कार्यको अनुगमन गर्ने र दोषीलाई कारवाही गर्नुको साटो उल्टै फाईदा हुने काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘हामी कुनै पनि बाहानामा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढि हुने गरी विद्यार्थीहरुबाट शुल्क उठाउने कुराको साक्षी रहन सक्दैनौ । माग सम्बोधन नभएको खण्डमा पीडित विद्यार्थीहरुको न्यायका पक्षमा हामी कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौ र जसबाट उत्पन्न हुने परिणामको जिम्बेवारी स्वयं चिकित्सा शिक्षा अध्ययन संस्थान हुनेछ ।’

राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्ने अनेरास्ववियु शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक क्रियाकलापको नेता संगठन हो । लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगसँगै बिद्यार्थी हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्वल शैक्षिक भविश्य निर्माणका निम्ति सदैव क्रियाशील रहेको अनेरास्ववियुले बताएको छ ।