जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार ०७:४८

मन्त्रालयको सचिव र परराष्ट्र वा मुख्यसचिवमध्ये एक जना गए पुग्ने कार्यक्रममा आधा दर्जन सचिव बोकेर बेलायत जाँदै प्रधानमन्त्री


काठमाडौं, कार्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायतको राजधानी लण्डन जाँदै हुनुहुन्छ । बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा आज त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत छन् ।

पूर्ववातावरणमन्त्री गणेश शाहले उक्त सम्मेलनमा सम्बन्धित मन्त्रालयको सचिव र परराष्ट्र वा मुख्यसचिवमध्ये एक जना गए पुग्ने बताउनुहुन्छ । कुनै पनि विदेश भ्रमण गर्ने अवसर आए कर्मचारीहरू लागिपरिहाल्नु मुलुकको दुर्भाग्य भएको बताउनुभयो । ‘सबै आफ्नो कुरा उठाउँछु भनेर जान्छ । यस्तो प्रतिनिधिमण्डलमा विज्ञ, वैज्ञानिक र त्यस क्षेत्रमा काम गर्नेहरू लाग्नुपर्छ । जसले गर्दा मुलुकको समस्या त्यहाँ प्रस्टसँग राख्न सकियोस्,’ उहाँले भन्नुभयो ,‘ नेपालको दुर्भाग्य के छ भने कर्मचारीतन्त्रले नियन्त्रणमा सधैं रह्यो । राजनीतिले त्यसलाई तोड्न नै सकेन ।’ शाहले नेपाल जलवायु परिवर्तनको जोखिमयुक्त मुलुक भएकाले मुलुकलाई अन्तर्राष्ट्रिय सहयोग र सहकार्य बढी आवश्यक हुने बताउनुभयो । नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय सहयोग र सहकार्यबाट बढी लाभ लिन नसकेको उहाँले बताउनुभयो ।

‘किनकि कर्मचारीतन्त्रले यस्तो महत्त्वपूर्ण सम्मेलनहरूलाई विदेश भ्रमणको अवसरका रूपमा मात्र लिएको छ, विषयवस्तु थाहा नभए पनि तहमा मात्र कुरा राख्नका लागि विदेश भ्रमण गरिरहेका छन्,’ उहाँले भन्नुभयो । अन्य देशको प्रतिनिधिमण्डलमा राजनीतिक नेतृत्व, वैज्ञानिक, विज्ञ, सम्बन्धित क्षेत्रका व्यक्तिहरू र सीमित कर्मचारी मात्रै हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो ‘जोसुकै समेटेर जम्मो प्रतिनिधिमण्डल जाने हाम्रो पुरानै रोग हो ।’

प्रधानमन्त्री देउवाले यही कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्नुहुने छ । सम्बोधनको क्रममा उहाले नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण, तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा धारणा राख्नुहुने छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।