जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार १३:१६

एमाले केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं, कात्तिक १२ । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरुको मापदण्ड अनुमोदन गर्नका लागि केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बिहीबार भएको स्थायी कमिटीको बसेको बैठकले महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तयार पारेको छ । स्थायी कमिटीको प्रस्ताव गरेको मापदण्डअनुसार पार्टीको भूगोल कमिटीबाट १ हजार १ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउनेछन् ।

पदेन प्रतिनिधि २६२ र यसको ५ प्रतिशत मनोनयन हुनेछन् । केन्द्रीय कार्यालय र विभागसहित ३, पार्टीका जनसंगठनहरूबाट ५–५, समग्र प्रवास कमिटीबाट २०, प्रत्येक प्रदेश कमिटीबाट मजदुर प्रतिनिधि १ र प्रत्येक जिल्लाबाट १ दलित प्रतिनिधि हुनेछन् ।

यो प्रतिनिधिको संख्या वैचारिक विषयलाई निर्धारण गर्न गत महिना ललितपुरको गोदावरीमा भएको पहिलो विधान महाधिवेशन भन्दा करिब एक चौथाइ कम हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज वडा र पालिका अधिवेशनको विषयमा छलफल र समीक्षा तथा महाधिवेशनको प्रतिनिधिहरुको मापदण्ड निर्धारण गर्ने एजेण्डा छ । नेकपा एमालेको महाधिवेशन मंसिरको १० देखि १२ सम्म चितवनमा हुनेछ ।