जनता टाइम्स

१० असार २०७६, मंगलवार १५:५९

किमार्थ संभव हुन्न एकताका नायक ओली–प्रचण्ड भिडाउने यो षडयन्त्र


एकतामा सुरुदेखि लागेका र निरन्तर वाच गरेकाहरुका लागि ओली र प्रचण्डलाई भिडाउने पसल चल्दैन भन्ने राम्रोसँग हेक्का छ । त्यसैले बजारमा फैलाइएको अफवाहलाई एकै बाक्यमा भन्न सकिन्छ, ‘किमार्थ पूरा संभव हुन्न एकताका नायक ओली–प्रचण्ड भिडाउने षडयन्त्र, भो नगर्नाेस यस्तो फल नफल्ने खेती ।’

समाचार बिश्लेषण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र राजनीतिक प्रतिवेदनको बिषयलाई लिएर ठुलै झगडा भएको भन्दै मिडियामा समाचारहरु आइरहेका छन । नेकपा हाँक्ने दुई पाइलट केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डकै बीचमा ठुलै समस्या आएको अफवाह पनि फैलाउन थालिएको छ । ओली र प्रचण्डले पूर्वएमाले पूर्वमाओवादीको छुट्टाछुट्टै भेला बोलाएर बैठक गरेको भन्दै प्रायोजित समाचार पनि आइरहेकै छन । यी सवै अफवाहले नेकपाका आम नेता कार्यकर्ता र स्वयं ओली–प्रचण्ड निकट भनिएका नेतामै भ्रम परेको ब्यक्त जिज्ञासाबाट बुझन सकिन्छ ।

एकताका लागि तात्कालिन नेकपा एमाले र माओवादी केन्द्रको स्थायी समितिबाट अनुमोदन भएको राजनीतिक कार्यदिशाको बिषयमा भएको बहशलाई लिएर अव पार्टी फुटने भयो कि भन्ने चिन्ता आम कार्यकर्तामा छ । केन्द्रीय कमिटी र स्थायी समितिमा रहेका नेकपाकै नेताहरु पनि मिडियामा आएको समाचारकै आधारमा आफ्नो धारणा बनाउँदै ओली र प्रचण्डबिरुद्ध बाण हान्न तम्तयार भएर बसेको अवस्था छ । बिगत एक सातादेखि सतहमा आएको बहशले पार्टी एकताको ऐतिहासिक आधार नबुझेका र एकतालाई सारमा होइन, रुपमा मात्रै बुझ्नेहरुका लागि यो कौतुहलता स्वभाविकै हो । भित्री कुरा नबुझेपछि बाहिरबाट जे देखिन्छ, त्यही सत्य होला भन्नु स्वभाविकै हो । तर बास्तविकता यही हो त ? ओली र प्रचण्डलाई बुझ्ने अनि एकताका हरेक बार्तालाई नियालेर बसेका सुत्रधार वा सहयोगीका लागि भने यो फैलाइएको अफवाहले किन्चित तलबितल गर्दैन ।

जे सहमति भएको छ, त्यसैमा अडिने ओली र प्रचण्डको स्वभाव र शैली बुझ्नेका लागि त हसिमजाकको बिषय भन्दा अरु हुन सक्दैन । नबुभ्mने वा नेकपा फुटोस भनेर धुप हाल्नेहरुका लागि अहिले देखिएको बहश वा छलफलले नेकपाभित्र ठुलै बखेडा सिर्जना भएको भान हुनु स्वभाविक हो । के भिडेकै हुन त ओली र प्रचण्ड ? यो प्रश्नको जवाफ भने प्रचण्डले आफ्नो गृहजिल्लाबाटै दिइसक्नु भएको छ । प्रचण्डले भन्नुभएको छ, ‘चुनाव अघि गठबन्धन भाँडन र चुनावपछि एकता भाँडन ठुलै शक्ति लागेका छन, तर ढुक्क हुनोस हामी दुई अध्यक्षले यो पार्टीलाई किंचित तलबितल हुन दिन्नौं, हामीलाई यो काममा लागि तपाईहरु सवै एकताको बेला भएको सहमतिको पक्षमा वकालत गर्नाेस ।’ आफ्नो गृहजिल्ला चितवनको जिल्ला कमिटी सदस्यहरुको शपथमा अध्यक्ष प्रचण्डबाट ब्यक्त यी भनाईले एक सातासम्म सतहमा उठाइएका धेरै प्रश्नको एकमुष्ट जवाफ दिएको छ ।

दुई अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड) बीच राजनीतिक प्रतिवेदनको बिषयमा लिएर ठुलै झगडा भएको र छुट्टाछुट्टै बैठक गरिएको अफवाह चलाइरहेको बेला प्रचण्डले दिनुभएको यो अभिब्यक्ति आफैमा एउटा ब्रम्हाश्त्र बनेर आएको छ, ‘एकता भाँडन लाग्नेहरुको योजना कहिल्यै सफल हुन्न भन्ने अठोटसहित ।’ यस बिषयमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यसबीचमा केही जवाफ दिनुभएको छैन । समृद्ध नेपाल निर्माणको योजनामा आफूलाई केन्द्रित गरिरहनुभएका प्रधानमन्त्री ओलीले पार्टी एकताको बिषयमा उठाइएको प्रश्नको जवाफ प्रचण्डबाटै दिन लगाउने पुरानै शैली अपनाउनु भएको छ । त्यसैले ओलीले यस बिषयमा कुनै जवाफ नदिई नेकपाबिरुद्धको खेती गर्नेहरुलाई त्यसैमा रमाउन छाडिदिनुभएको छ ।

पार्टी एकताको बिषयमा धेरै नेताले आफ्नो भुमिका दावा गरिरहेका छन । कतिपय नेता एकता भाँडन सुरुदेखि तल्लिन हुँदा पनि आफै एकताको हर्ताकर्ता भन्दै प्रचार पनि गरिरहनुभएको छ । यो राजनीतिक खेती चलिरहला । तर एकतामा सुरुदेखि लागेका र निरन्तर वाच गरेकाहरुका लागि ओली र प्रचण्डलाई भिडाउने पसल चल्दैन भन्ने राम्रोसँग हेक्का छ । त्यसैले बजारमा फैलाइएको अफवाहलाई एकै बाक्यमा भन्न सकिन्छ, ‘किमार्थ पूरा संभव हुन्न एकताका नायक ओली–प्रचण्ड भिडाउने षडयन्त्र, भो नगर्नाेस यस्तो फल नफल्ने खेती ।’