जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार १५:२८

एनसेल ‘वर्ल्ड कम्युनिकेशन अवार्ड’ को दुई विधाबाट सम्मानित


काठमाडौं, कात्तिक १२ । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेशन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिब्युशन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कात्तिक ९ (अक्टोबर २६) गते आयोजना भएको टोटल टेलिकम कंग्रेसको एक कार्यक्रममा अवार्डको विजताको घोषणा भएको थियो ।

सन् १९९९ मा सुरु भएको वर्ल्ड कम्युनिकेशन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात् विपद् प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भूकम्पजस्ता विभिन्न विपद् तथा सङ्कटको समयमा गरेका योगदानहरूको सराहना गर्दछ ।

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा योगदान पुर्याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्याएबापत एनसेललाई ‘द सोसियल कन्ट्रिब्युशन अवार्ड’ प्रदान गरिएको हो । त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढीजस्ता विपद्का समयमा सरकार र समुदायलाई पुर्‍याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो ।

वर्ल्ड कम्युनिकेशन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्षदेखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ । ‘यस प्रतिष्ठित वर्ल्ड कम्युनिकेशन अवार्ड २०२१ अन्तर्गत दुई महत्त्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा हामी निकै हर्षित छौँ । यी सम्मान हामीले समाजको विकास र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्त्वपूर्ण काममात्र नभएर हाम्रा सामाजिक पहलहरूको प्रभावकारी योगदान र विपद्को समयमा सरकार र नेपाली जनसमुदायलाई पुर्याएको सहयोग र योगदानको कदर हो ।

हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु’, वर्ल्ड कम्युनिकेशन अवार्ड २०२१ मा दुई अवार्ड जित्न सफल भएकोमा खुसी र आभार व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भन्नुभयो ।

‘द सोसियल कन्ट्रिब्युशन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इन्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एन्ड स्मार्ट र पोलिक्याब इन्डिया गरी पाँच कम्पनी सूचीकृत भएका थिए । त्यस्तै एअरटेल युगान्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डका लागि सूचीकृत भएका थिए ।

यसैगरी एनसेलले भर्खरैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड’ को १२ औँ संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्रान्डिङ इन्स्टिच्युट, वर्ल्ड एचआरडी कंग्रेस र स्टार अफ द इन्डस्ट्री ग्रुपले एसियामा रहेका विभिन्न कम्पनीलाई मार्केटिङ कम्युनिकेशन्सको माध्यमबाट प्रतिभाहरूलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरूलाई सम्मान गर्दछ ।

यसका साथै एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरूका साथ भर्खरैमात्र सस्टेनेबिलिटी लिडरशिपु का लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएको थियो । टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरूको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरूलाई सम्मान गर्दछ ।

सस्टेनेबिलिटी लिडरशिप अन्तर्गतको यो सम्मान त्यस्ता प्रोजेक्टहरूलाई दिइन्छ जसले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि ठूलो सम्भावना बोकेको हुन्छ । गएको असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जित्न सफल भएको थियो ।

एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरशिप (नेतृत्व) विधामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्डबाट सम्मानित हुनुभएको थियो । लन्डनमा रहेको प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरूले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ ।