हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुग्नुभएको छ ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी जोमसोम पुग्नुभएको हो । बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा राष्ट्रति सवार हेलिकोप्टर ल्याण्ड भएको जोमसोम विमानस्थलका प्रमुख पुस्कल राज शर्माले जानकारी दिनुभयो ।

हिन्दु तथा बौद्धमार्गीहरुको पबित्र तीर्थको रुपमा लिइने मुक्तिनाथ मन्दीरमा पूजा गर्नु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । अनौपचारिक भनिएको यो भ्रमण मुलतः लुम्बिनी, मुक्तिनाथ, ढोरपाटन, मनाङ जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा केन्द्रित हुनेछ। राष्ट्रपति भण्डारी आज हिन्दुहरुका प्रसिद्ध चार धाममध्येको एक मुक्तिनाथतर्फ लाग्नुभएको छ । मुस्ताङमा अवस्थित मुक्तिनाथ धार्मिक तथा पर्यटकीय स्थलका रुपमा चर्चित छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पछिल्लो नेपाल भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गरी यहाँको धार्मिक पर्यटनको महत्व दर्शाएउनुभएको थियो । मुक्तिनाथका साथै आजै राष्ट्रपति ढोरपाटन शिकार आरक्षमा पुग्ने कार्यक्रम छ । त्यहाँ आरक्षका वार्डेनले शिकार आरक्ष र पर्यटनको अवस्थाका बारेमा ब्रिफिङ गर्नेछन् भने ढोरपाटन नगरपालिकाका मेयरले स्वागत गर्नुहुने छ ।

राष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने र भोलि लुम्बिनीमा जाने कार्यक्रम रहेको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । त्यहाँ विश्वकै अग्लो बुद्धको मुर्ति प्रतिस्थापन लगायतका कार्यक्रम छन् ।राष्ट्रपति भण्डारी मंगलबार हिमालपारीको जिल्ला मनाङ जानुहुने छ । पर्यटकीय अवस्थाको बारेमा बुझ्नुको साथै नेकपा एमालेका सांसद पोल्देन छोपाङ गुरुङको नमूना स्याउ उद्योगको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रपतिको यसपटकको अनौपचारिक भ्रमणको उद्देश्य कोभिड संकटका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन प्रचार गर्ने तथा राष्ट्रिय उद्यमशीलतालाई प्रबद्र्धन गर्ने उद्देश्यले हुन लागेको अर्थमा बुझ्न सकिने ढकालले बताउनुभयो । नेपालको धार्मिक पर्यटनको महत्व रहेकाले राष्ट्रपति मुक्तिनाथ र लुम्बिनी एकैपटक भ्रमण गर्न लागेको र मनाङ तथा ढोरपाटन शिकार आरक्षको समेत भ्रमण गरेर पर्यटन आन्तरिक तथा बाह्य पर्यटकलाई सन्देश दिन खोजिएको छ । अब नेपाल सुरक्षित छ भनेर सन्देश दिने तथा सांसदले चलाएको नमूना स्याउ फार्मको अवलोकन गरेर राष्ट्रिय उद्यमीलाई हौसला दिने उद्देश्य देखिन्छ ।राष्ट्रपतिको भ्रमणको सबै प्रबन्ध नेपाली सेनाले गरेको छ । राष्ट्रपति सेनाको हेलिकोप्टरबाटै ती ठाउँमा जाने बताइएको छ ।





















प्रतिक्रिया दिनुहोस्