सीपी लोहिया/बैतडी । बैतडीको सिगास गाउँपालिका ५ ढुंगाडमा गत ३१ असोसदेखि २ कात्तिकसम्म भएको अविरल वर्षाले ११० घरपरिवार प्रभावित भए । गाउँमा सेती नदीको बाढी पसेपछि तीन दिनसम्म टापुमा थुनिएका स्थानियवासी अहिले पनि निकै समस्यामा छन् । बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसमेत पुगे । बाढीबाट प्रभावित भएको दुई साता पुगेपनि ढुंगाडवासीले केही राहत पाएका छैनन् ।
केन्द्र सरकार र प्रदेश सरकारका प्रमुखहरू त्यहाँ पुगे पनि घर नजिकैको भनिएको स्थानीय सरकारका व्यक्ति आफुहरूसँग नपुगेको स्थानीय राम खडायतले बताउनु भयो । ‘मेरो घर भित्र पानी पसेर सबै मालसमान बिग्रियो । बचेका कपडा र केही सामानहरू ओढारमा राखेका छौँ । बस्नलाई टहरो छैन् । छिमेकीको घरमा खाना खाने र कसैको घर गोठमा बास बस्ने गरेका छौं,’ खडायतले भन्नुभयो । अहिलेसम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद शाखाका व्यक्ति कोही नपुगेको उहाँको गुनासो छ ।
जनता यसरी घरबारबिहीन हुँदा कोही पनि अहिलेसम्म एउटा त्रिपाल दिनसमेत नआएको स्थानीय कृष्ण खडायतले बताउनु भयो । ‘यसरी ओढारको साहारा लिनुपरेका जनतालाई स्थानीय सरकारले एउटा त्रिपाल मात्र दिएको भए पनि राहत हुनेथियो’, उहाँले भन्नुभयो । स्थानीय प्रताप महराको घर बाढीले बगाएपछि अहिले उहाँ छिमेकीको घरमा बसेर किरिया गरिरहनु भएको छ । बाढीले घर लगेसँगै घरभित्रका सबै माल समानहरू नष्ट भए, काट्न ठिक्क भएको धानसहितको खेतबारी सबै बगरमा परिणत भयो । न एक टुक्रा जमिन रह्यो । न बास बस्ने ठाउँ रह्यो । हामी बाढी आउनु पूर्व भाग्न सफल भयौँ र बल्ल बाँच्यौँ । यस्तो पीडामा परेका हामीलाई कुनै पनि सरकारले सहयोग गरेको छैन,’ महराले भन्नुभयो ।
स्थानीय कृष्ण थापा आफूहरुको समस्यामा कोही नआएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘जिल्लामा रहेको विपद व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, रेडक्रसका व्यक्ति, पत्रकार कोही पनि हाम्रो गाउँमा पुगेनन् । प्रधानमन्त्री र मुख्य मन्त्री आएको दिन केही नेताहरू र पत्रकार आएका थिए भन्ने सुन्यौँ तर उनीहरूले कसैको पीडा बुझेनन् । प्रधानमन्त्री पुगेको १० मिटर वरिपरि घुमेर गए ।’
यता जिल्ला विपद व्यवस्थापन समिति अध्यक्षसमेत रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे दसैँअघिदेखि विदामा बस्नुभएको छ । प्रमुख जिल्ला अधिकारी तिहारपछि मात्र जिल्ला फर्किने निमित्त प्रजिअ खगेन्द्र भारतीले बताउनु भयो । यता सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बाढी प्रभावित क्षेत्रमा जानको लागि तयारी गरिरहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्