जनता टाइम्स

१० असार २०७६, मंगलवार १८:३७

ललितपुर महानगरको बजेट पाँच अर्ब १८ करोड, पूर्वाधार बिकाशमा २ अर्व बढी


ललितपुर, असार १०

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७को लागि पाँच अर्ब १८ करोड रुपियाँ वराबरको बजेट पारित गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाको चौथौं नगरसभामा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पेश गर्नुभएको उक्त बजेट सर्वसम्मतले पारित भएको हो ।

बजेटमा पूर्वाधार विकासका लागि दुई अर्ब ७३ लाख ६३ हजार, सामाजिक सुरक्षाको लागि ४६ करोड, सामाजिक विकासका लागि १६ करोड, ८४ लाख , वातावरण तथा विपद ब्यवस्थापनको लागि १६ करोड ५५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको लागि दुई करोड, २५ लाख रुपियाँ विनियोजन गरेको छ । नगरसभा उद्घाटन गर्नुहँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विकास र सेवाका विषयमा कुनै पनि हालतमा राजनीति गर्ने छुट कसैलाई नहुने बताउनुभयो ।

कर्मचारीतन्त्रमा स्थायी, करार, अस्थायी, ज्यालादारी, आंशिक कर्मचारी हुन्छ, तर हिजो आज ठेकेदारीमा रहेका ठेकेदारहरूलाई पनि स्वतः स्थायी गर्नुपर्छ भन्ने आन्दोलन चल्ने गरेको प्रसङ्ग कोट्याउँदै मन्त्री पण्डितले असम्भव कुरा सरकारसँग नमाग्न सम्बद्ध पक्षसँग उहाँले अनुरोध गर्नुभयो । ‘‘राजनीति गर्ने स्थानमा राजनीति गर्ने हो, तर विकास र सेवा गर्नुपर्ने स्थानमा राजनीति गर्न दिइन्न’’ उहाँले भन्नुभयो, ‘‘जनप्रतिनिधिहरुले ठेक्कापत्ता गर्ने सबै प्रकारका कामहरु गर्न पाइन्न, गर्यो भने त्यो अपराधजन्य काम हुन्छ, त्यसैले गर्न दिइन्न ।’’

उहाँले संघीय निजामति सेवा ऐन, प्रदेसभामा निजामति मापदण्ड र आधार, स्थानीय मापदण्ड र आधारहरू पास हुने अवस्थामा रहेको जानकारी गराउनुभयो ।