जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार ०८:५२

सयपत्री सप्रियपछि किसान मक्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला


चितवन, कात्तिक १५ । तिहार नजिकिँदै जाँदा चितवनमा सयपत्री फूल तयार भएका छन् । यहाँका बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्, तिहारको पर्खाइमा । अबको दुईरतीन दिनमा फूल टिप्ने तरखरमा छन्, यहाँका किसान । सयपत्री फूलखेतीमा पछिल्ला वर्ष युवा पुस्ताको आकर्षण पनि बढ्दै गएको छ ।

सप्तरी राजविराजका शशन देवकोटाले भरतपुर महानगरपालिका ५ समीचोकमा पाँच कट्ठा जमिनमा सयपत्री फूलखेती गर्नुभएको छ । बारीमा फूल टिप्ने बेला भइसकेको छ । लक्ष्मी पूजाको अघिल्लो दिनदेखि फूल टिप्न थाल्ने उहाँले योजना बनाउनु भएको छ ।

‘पहिलो पटक सयपत्री फूल लगाएको हो । राम्रो भएको छ’, उहाँले भन्नुभयो । देवकोटाले कलकत्ते हाइब्रिड र कर्मा(५५५ जातको सयपत्री फूल लगाउनु भएको छ । पाँच कट्ठामा लगाएको फूलबाट करिब २ हजार माला बिक्री हुने उहाँको अनुमान छ । कृषिका विद्यार्थीसमेत रहेका उहाँलाई फूलमा लाग्ने रोगको बारेमा राम्रोसँग जानकारी छ ।

फूलमा कतै–कतै ढुसी र स्पाइडर माइट देखिने गरेको उहाँले बताउनु भयो । राम्रो विषादीको प्रयोग गर्न जाने फूल बचाउन सकिने देवकोटा बताउनु हुन्छ । देवकोटा यो वर्ष एउटा माला ८० देखि १ सय रुपैयाँसम्म विक्री गर्ने योजनामा हुनुहुन्छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकसमेत रहनुभएका भरतपुर१५ रामपुरका सूर्य ढुंगानाले १० कट्ठामा सयपत्री फूलखेती गर्नुभएको छ । ‘फूल तयार भइसकेको छ । फूलको बुकिङ पनि सुरु भइसकेको छ । लक्ष्मी पूजाको दिनबाट टिप्न सुरु गर्छौँ’, उहाँले भन्नुभयो ।

१० कट्ठामा लगाइएको फूलबाट करिब १० हजार माला बनाउन सकिने उहाँको अनुमान छ । गत वर्ष लकडाउनका बेला बचेको समयलाई सदूपयोग गर्न उहाँले केही जग्गामा सयपत्री फूल लगाउनु भएको थियो । फूलको उत्पादन र माग दुबै राम्रो भएपछि उहाँले यो वर्ष पनि फूलखेती गर्नुभएको हो ।

यो वर्ष उहाँले अरु साथीलाई समेत समेटेर भरतपुर महानगरका विभिन्न स्थानमा सयपत्री फूलखेती गर्नुभएको छ । मंगलपुर, फूलबारी लगायतका स्थानमा एक विघामा सामुहिक फूलखेती गरिएको उहाँले जानकारी दिनुभयो । ‘फूलको माग राम्रो छ । तिहारमा बेचेर सकिएन भने पनि मंसिर लाग्दै छ । विवाह टन्नै हुन्छन् । बिक्री भइहाल्छ’, ढुंगानाले भन्नुभयो ।

पोहोर साल उहाँले सयपत्री फूलको विरुवा किनेर ल्याएर खेती गर्नुभएको थियो । यो वर्ष भने थाइल्याण्ड र भारतबाट फुलको बीउ ल्याएर विरुवा उत्पादन गरी फूलखेती गरिएको उहाँले बताउनु भयो । चितवनमा मात्रै यो वर्ष करिब ४० हजार विरुवा बिक्री गरेको उहाँ बताउनु हुन्छ । दाङमा २० हजार विरुवा पठाइएको उहाँले जानकारी दिनुभयो ।

अहिले भरतपुर र नारायणगढका केही व्यापारीले थोरैथोरै परीमाणमा फूल लैजान थालेको उहाँले बताउनु भयो । ‘अहिले एउटा मालाको फूललाई ६० रुपैयाँमा दिएका छौँ । लक्ष्मीपूजाको दिनबाट त सय रुपैयाँ पर्छ । अहिले सस्तो परेकाले कोल्ड स्टोरमा राखेर तिहारसम्म टिकाउने भन्दै केही व्यापारीले छिटपुट लग्न थालेका छन्’, उहाँले भन्नुभयो। काठमाडौँ, पोखरा लगायत बाहिरी जिल्लाका व्यापारीलाई भने अहिल्यै नदिइने उहाँले बताउनु भयो । लक्ष्मी पूजाको दिनबाट मात्रै बिक्री गरिने उहाँनको भनाइ छ ।

भरतपुर–७ मा पनि युवाले सामूहिक रुपमा सयपत्री फूलखेती गरेका छन् । युवाले माली दाइ एग्रो इनोभेसन प्राली नामक संस्था स्थापना गरेर २७ कट्ठामा फूलखेती गरेका छन् । पर्वलाई लक्षित गरेर विभिन्न चरणमा फूलखेती गरिएको माली दाइका सञ्चालक इन्जिनियर सागर कार्कीले बताउनु भयो । कार्कीसहित कृषिका विद्यार्थी अजयकुमार यादव र शिक्षक एक्सन लौडारीले सामूहिक फूलखेती गर्नुभएको हो ।

दशैँलाई नौ कट्ठा, तिहारलाई १५ कट्ठा र छठ तथा विवाहको सिजनका लागि भनेर तीन कट्ठामा फुल लगाइएको उहाँले बताउनु भयो । ‘तिहारका लागि लगाइएको फुलबाट आठ हजार माला बनाउन सकिन्छ कि भन्ने अपेक्षा छ’, उहाँले भन्नुभयो ‘हामी सस्तोमा माला दिन खोज्दै छौँ । सजावटका लागि चाहिने एक मिटरको मालालाई सय रुपैयाँ र घाँटीमा लगाइदिने मालालाई ८० रुपैयाँमा दिने योजना छ ।’

तिहारको लागि भने आठ सय किलो फूल र दुई हजारजति मालाको माग आइसकेको उहाँ बताउनु हुन्छ । तिहारलाई लक्षित गरेर भरतपुर–७ बुद्धचोकमा फूलको पसल राख्न लागिएका उहाँले बताउनु भयो । ‘सामाजिक संस्था बेटर चितवनको समन्वयमा मालि दाई स्थापना भएकाले पसलमा संस्थाका स्वयमसेवक खटिन्छन् । त्यसबाट आएको नाफा सामाजिक काममा नै प्रयोग गर्छौँ’, उहाँले भन्नुभयो ।

यस वर्ष चितवनमा करिब ३५ बिघामा व्यावसायीक रुपमा सयपत्री फूलखेती गरिएको फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठ बताउनु हुन्छ । त्यसबाट एक लाख २० हजार मालालाई पुग्ने फूल उत्पादन हुने अनुमान छ ।

‘घरमै आफूले लगाउने भनेर पनि कतिपयले फूल लगाएका छन् । करिब ३५ बिघामा व्यावसायिक रुपमा नै लगाइएको छ । ती दुबैबाट गर्दा साढे दुई लाख माला बन्न सक्ने अनुमान गरेका छौँ’, उहाँ भन्नुहुन्छ, ‘चितवनलाई त्यतिले मात्रै पुग्दैन । अरु थप एक लाख मालाको लागि चाहिने फूल बाहिरी जिल्लाबाट ल्याउनुपर्छ ।’ मालाको मूल्य निर्धारण भइनसकेकाले बाहिरबाट थप फूल नआए मालाको मूल्य बढ्न सक्ने उहाँ बताउनु हुन्छ । तिहारमा ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री हुने व्यवसायीले बताएका छन् । (कुलप्रसाद काफ्ले, न्यूज कारखाना)