जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १९:०९

कांग्रेस–माओवादी त्यागेर २ हजार बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश


खोटाङ, कात्तिक १५ । विभिन्न पार्टी परित्याग गरी २० भदौदेखि ९ कार्तिकसम्म खोटाङमा २ हजार १३७ जना एमालेमा प्रवेश गरेका छन् । १० पालिका र ७९ वडामा भव्य रुपमा अधिवेशन सम्पन्न भई सर्वसहमतले नेतृत्व चयन गर्दा उक्त संख्यामा नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले खोटाङले जिल्लाका दशैवटा स्थानीय तहमा उत्प्रेरकको जिम्मेवारी तोकेको जनाएको छ । आउदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौ महाधिवेशनलाई लक्षित गर्दै तोकिएको जिम्मेवारीमा खोटाङमा ९ हजार ६७३ जना संगठित सदस्य छन् ।

कात्तिक १२ मा पुष्पलाल स्मृति भवन दिक्तेलमा बसेको जिल्ला कमिटीको सातौं सचिवालय बैठकले ऐसेलुखर्क गाउँपालिकामा लिलानाथ निरौला, केपिलासगढी गाउँपालिकामा देवविक्रम राई, रावाबेंशी गाउँपालिकामा विणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकामा रामप्रसाद दंगाल र कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्य, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चर्चबहादुर विश्वकर्मा, खोटेहाङ गाउँपालिकामा दीपनारायण रिजाल, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकामा रामप्रसाद दंगाललाई उत्प्रेरकको जिम्मेवारी तोकिएको जनाएको छ।

उत्प्रेरकको जिम्मेवारी पाएकाहरुले २६ कात्तिकभित्र नविकरण गर्ने, नयाँ सदस्यता फारम भराउने र सदस्यताको रेकर्डलाई अध्यावधिक गर्ने काम गर्नुपर्ने एमालेका पार्टी सचिव कुमारप्रसाद आचार्यले बताउनुभयो । सोही पालिकाभित्रका नेताहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी एवं सदस्यहरु, वडा कमिटीका अध्यक्षहरु र जनवर्गीय संगठनका अगुवाहरु समेतको सक्रियतामा सबै पालिका र वडाहरुमा खटिई सदस्यता चुस्त दुरुस्त गर्ने आचार्यले बताउनुभयो ।

संगठित सदस्य संख्याका आधार र कोटामा गरी दशौ महाधिवेशनमा जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्। एमालेको सचिवालय वैठकले बेमौसमी अति वर्षाका कारण ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार र पानीले पाक्न लागेको धानवालीमा क्षति पुगेका कृषकहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

पार्टी कमिटीका सदस्यहरुलाई कृषिमा पुगेको क्षतिको लगत संकलन गर्न पनि आग्रह गरेको छ । चयन हुँदा पालिकामा ७५० जना र वडामा २ हजार ४४९ जना गरी एकैचोटी ३ हजार १९९ जनाले पार्टीको नयाँ जिम्मेवारी पाएको र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा ३१ सदस्यीय पुरै कमिटी महिला मात्र बन्नुलाई ऐतिहासिक र जिल्लाकै गौरव गर्न लायक पार्टी भएको एमालेले जनाएको छ।