जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार १२:४९

पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा


सुधा देव/ सप्तरी १७ कार्तिक । सप्तरीका विभिन्न स्थानमा लाखौं खर्च गरेर प्रतिस्पर्धामा लक्ष्मी पूजा गरिँदै छ । सार्वजनिक स्थानहरूमा वर्षौंदेखि लक्ष्मी पूजाभन्दा सजाबट महँगो हुँदै आएको स्थानीयको गुनासो छ । कसरी राम्रो सजावट, आकर्षक र नमुना बनाउन सकिन्छ ? बढीभन्दा बढी भक्तजनको घुइँचो लाग्छ भन्ने उद्देश्यले महँगो सजाबट गर्ने प्रवृत्ति सप्तरीमा हरेक वर्ष बढ्दै गएको राजविराज–७ कि ४४ वर्षीया ममता साहले बताउनुभयो ।

‘राजविराज नगरपालिकामा मात्र तीन दर्जन सार्वजनिक स्थानमा लक्ष्मीपुजा गर्ने गरिएको छ’, उहाँले भन्नुभयो । २५ वर्षदेखि राजविराजमा सार्वजनिक स्थानमा संयुक्त रूपमा लक्ष्मी पूजा गर्दै आएको राजविराज नगरपालिका–६ लिलजा टोलका ५० वर्षीय नरेशकुमार चौधरीले बताउनुभयो । ‘टेन्टको चलन भएदेखि २५ वर्षदेखि यस नगरपालिकामा सार्वजनिक ठाउँमा स्थानीय मिलेर पुजा गर्ने चलन भएको हो’। उहाँले थप्नुभयो ।

सप्तरीसहित तराई मधेशमा नवरात्र, लक्ष्मीपूजा, सरस्वती पूजा सामूहिक रूपमा मनाउने गरिएको छ । सार्वजनिक स्थानमा आकर्षक मूर्तिहरू बनाएर सामूहिक रूपमा पूजा गरिने चलन छ । सामूहिक रूपमा पूजा गरेर सकारात्मक सन्देश दिँदै आए पनि पूजामा तड्कभड्क देखाएर विकृति निम्त्याउन भने नहुने चौधरी बताउँछन् ।

‘पूजामा सजावट महँगोकै लागि आयोजक टिमले मनपरी चन्दा माग्ने प्रवृत्ति बढेको छ । पूजा राम्रो गरे भइहाल्यो नि सजावटमा अनावश्यक खर्च गरेर चन्दा असुली गर्नु गलत हो’, उहाँले भन्नुभयो । सजाबट मात्र कम्तीमा पाँच लाखसम्म खर्च हुने गरेको अस्पताल नजिकै भइरहेको पूजा आयोजक समितिले जनाएको छ ।न्युज कारखाना