काठमाडौं, कात्तिक १८ । काठमाडौंको व्यस्त शहर न्यूरोड, असनलगायतका बजारमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ । भाइ टीकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन्। दाजुभाईलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन छ ।
भाइ मसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ । यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन् । भाइ मसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसले हरुले पनि विक्री गरिरहेका छन् । त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरुबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ ।
काठमाडौंको न्यूरोड, असन लगायतका सडक पेटीहरुमा भाइ मसला किन्नेको भीड लागेको देख्न सकिन्छ । समग्रमा विगत केही दिनयता भाइ मसला किन्नेहरुको भीड बढेपनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी सजिव बज्राचार्यले बताउनुभयो । भाइ मसला प्रायः विदेशबाट आउने र नेपाली उत्पादन कम नै हुने उहाँले बताउनुभयो । भाइ मसला पनि विभिन्न गुणस्तरको आउने उल्लेख गर्दै उहाँले स्वस्थ मसला किन्न सुझाव दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्