जनता टाइम्स

१८ कार्तिक २०७८, बिहीबार २०:१७

प्रचण्ड र गगन थापालाई केपी ओलीको कडा जवाफ


काठमाडौं, कात्तिक १८ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने बताउनुभएको । कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह समेत गर्नुभयो ।

केही दिनअघि थापाले भक्तपुरमा भाषण गर्दै एमालेलाई चुनावमा भक्तपुरबाट क्लीन स्वीप गर्ने बताउनुभएको थियो । कतै कुनाकाप्ची बाँकी रहेमा ‘भ्याकुम’ लगाएर बढार्नेसमेत थापाले चुनौती दिनुभएको थियो । अध्यक्ष ओलीले भक्तपुरबाटै गगन थापालाई जवाफ दिनुभएको हो ।

आज एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुरमा भ्याकुम क्लिनर लिएर आएछन् । अनि, भ्याकुम क्लिनर लगाएर एमाले सिध्याउने रे । विचरा ! सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन ।’

माओवादी अध्यक्ष प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भनी गरेको टिप्पणीको पनि एमाले अध्यक्ष ओलीले जवाफ दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि नै हामीले गणतन्त्रको अभियान थालेका थियौं । २२ वर्षअगाडि नै गणतन्त्रको आन्दोलनमा जेल परेको थिएँ । कसैले धाक नदेखाए हुन्छ ।’