जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १९:३७

धर्म परिवर्तनको पीडा, आफ्नै दाजुभाई नै भए पराई


खोटाङ, कात्तिक १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी क्रिश्चियन धर्मावलम्बी ईश्वरा राईको ७४ वर्षको उमेरमा बिहीबार राती मृत्यु भयो । उहाँ २८ साउन २०७७ मा क्रिश्चियन बन्नुभएको थियो । कारण, माइलो छोरा पञ्चराम र बुहारी सुनिता राई दशकदेखि नै क्रिश्चियन धर्मावलम्बी बन्नुभएको थियो ।

२०५९ सालदेखि उदयपुरको कटारी रिस्कुमा बसिरहेका जेठो छोरा विशाल, बुहारी विचारी र सुनिता तथा कान्छो छोरा होमनाथ (मृत्यु भइसकेको) र बुहारी सिर्जनाको परिवार भने हिन्दु धर्म मान्दै आउनु भएको छ । ईश्वराको मृत्युपछि भने एकै परिवारको दाजुभाइबीचमा सांस्कृतिक विभाजन देखा परेको छ । क्रिश्चियन बनेका कारण ईश्वराको मृत्यु संस्कार सोही धर्मको नीति अनुसार शुक्रबार गरिए भने हिन्दु धर्ममा आधारित परम्परा मान्दै आउनु भएका जेठो छोराको उपस्थिति औपचारिकताका लागि मात्र रह्यो ।

विशालले आमाको मृत्युको खबर भाइ पञ्चरामबाट राती नै पाउनु भएको थियो । रातारात गरेर उहाँ कटारीबाट आमाको दाहसंस्कारका लागि च्यास्मीटार दाल्फु पुग्नुभयो । तर, आमाको दाहसंस्कारका क्रममा उहाँको भूमिका गौण रह्यो । जन्म दिएर दश धारा दूध चुसाएर हुर्काउने आमाको निधनमा उहाँले केश काट्न परेन, दुःख बगाउन पाउनु भएन ।

आमाको शव उठाएर गाड्नेसम्मका रित क्रिश्चियन धर्म अनुसार सङ्गति र भजन गर्दै सम्पन्न गरिए । आमा पनि विश्वासी (क्रिश्चियन) बनिसकेकाले सोही धर्म अनुसार घर सल्लाहमै दाहसंस्कार गरिएको पञ्चरामले बताउनु भयो । हप्ता दिनपछि सान्त्वना सङ्गति गरेपछि ईश्वराको मृत्यु संस्कार सम्पन्न हुने छ । ‘आमा पनि विश्वासी भएकाले यही धर्म अनुसार आमाको मृत्यु संस्कार गरिएको हो,’ पञ्चरामले भन्नुभयो, ‘यदि आमा पनि हिन्दु हुनुहुन्थ्यो भने दाइले आमाको दाहसंस्कार लगायतका सबै काम गर्नु पर्थ्यो । म चुप लागेर बस्नुपर्ने हुन्थ्यो ।’

पञ्चरामसहित दाल्फुका दर्जनौं परिवार क्रिश्चियन धर्ममा प्रवेश गरिसकेका छन् । सोही गाउँमा हिन्दु, किरात र स्वर्गीकमार्गीसमेत छन् । धर्म परिवर्तनले दाजुभाइको घरमा छेवर, पास्नी, पितृ पूजाआजा लगायतका रीतिरिवाजका बेलासमेत एकले अर्कालाई निमन्त्रणा गर्न असहज भएको देखिन्छ ।

उहाँहरूबीचमा छोराछोरीको विवाह कर्ममा मात्र आवत–जावत हुने गरेको छ । विश्वासी (क्रिश्चियन) बनिसकेकाले पूजाआजा गर्दैनन् र पूजाआजा गरेको प्रसाद खाँदैनन् । एकै परिवारका भए पनि पारिवारिक रूपमा उहाँहरू आपसमा बिरानो र पराई जस्ता देखिन्छन् । घरका बुवाआमाको मृत्यु संस्कार उनीहरूले अंगालेको धर्म अनुसार टुंग्याउने गरिएको स्थानीय बलिदान मण्डलीका अगुवा देवेन्द्र राईले बताउनु भयो ।

कतिपय घरमा हिन्दु, किरात वा क्रिश्चियन धर्म मान्ने सन्तानले आ–आफ्नो धर्म अनुसार मृतक बुवाआमाको काजक्रिया गर्ने गरेको छन् ।