जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार ०८:२१

सुकुम्बासीले नै मेयर-उपमेयरलाई ५१ केजीको माला लगाइदिएपछि


परासी,कात्तिक २१ । पश्चिम नवलपरासीका सुकुम्बासीहरुले सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा र उपमेयर दधिराम अर्याललाई सुकुम्वासीले ५१ केजीको माला लगाएर गाउँ घुमाएका छन्। १० वर्षअघि रोक्का भएको जग्गा फुकुवा भएपछि उनीहरुले मेयर र उपमेयरलाई यसरी सम्मान गरेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६९ सालदेखि रोक्का रहेको जग्गा मेयर थापाको पहलमा फुकुवा भएको भन्दै खुसी भएका वडा नं ४ प्रगतिटोलका सुकुम्बासीहरुले बिहीबार उहाँहरुलाई बाजागाजासहित स्वागत गरेर गाउँ घुमाएका हुन् । तत्कालिन सकुम्बासी समस्या समाधान आयोगको नवलपरासी समितिले पश्चिम नवलपरासीका करिब ८ हजार सुकुम्बासीलाई पुर्जा वितरण गरेको थियो । सुनवल नगरपालिका क्षेत्रमा मात्र करिब २३ सय बढी सकुम्बासीका जग्गा रोक्का थिए।

पुर्जा वितरणमा अनियमितता र भ्रष्टचार भएको भन्दै उजुरी परेपछि अख्तियारले सबै पुर्जाका जग्गा रोक्का राखेको थियो । आयोगको २०७८ कात्तिक ८ गतेको निर्णयले रोक्का जग्गा फुकुवा गर्न मालपोत कार्यालय परासीलाई पत्रचार गरेको छ। पत्रचारपछि रोक्का जग्गा १ महिनाभित्र फुकुवा गरिने मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले बताउनु भयो ।

जग्गाको क्षेत्रफलअनुसार सुकुम्बासी समस्या समाधान आयोगले राजश्व दस्तुदर तोकेर पुर्जा वितरण गरेको थियो । राजश्व बुझाएर पुर्जा पाएका सुकुम्बासीहरु रोक्का भएपछि समस्यामा परेका थिए । सो जग्गा फुकुवा भएपछि उनीहरु खुसी भएका हुन ।