काठमाडौं, २२ कार्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पेज प्रहरी नायब निरीक्षक (सई)ले चलाउने गरेको खुलेको छ ।लामो समयदेखि देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुकमा आफ्नो फोटो राख्नुभको छ । ‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले आफ्नो तस्विर पोष्ट गरेपछि प्रधानमन्त्रीको फेसबुकसमेत प्रहरीले चलाउने गरेको खुलेको हो ।
प्रधानमन्त्री देउवाको फेसबुकबाट प्रहरी नायब निरीक्षक धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गर्नुभएको छ । उहाले सो पोष्ट केहीबेरमा हटाउनु भएको छ । विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको बालुवाटार स्रोतले बताएको छ । पोष्ट हटेपनि मुलुकको कार्यकारी प्रधानमन्त्रीको आधिकारीक फेसबुक पेज एक प्रहरी अधिकृतले सञ्चालन गर्नु असामान्य विषय बनेको छ ।
‘जुनसुकै प्रयोजनका लागि भए पनि प्रधानमन्त्रीको फेसबुक प्रहरीले चलाउन मिल्दैन । यसमा प्रधानमन्त्री स्वयं, सचिवालय र प्रहरी प्रशासन दोषी देखिन्छ’, प्रधानमन्त्रीको फेसबुक दुरुपयोगबारे एक उच्च सरकारी अधिकारीले भन्नुभयो । प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज प्रेस सल्लाहकार वा सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । सामान्यतया प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज निजी सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । प्रहरीलाई नै प्रधानमन्त्रीको फेसबुक चलाउन दिँदा दुरुपयोगसँगै गोपनीयतामाथि पनि गम्भीर प्रश्न उठ्नसक्छ ।
प्रतिक्रिया दिनुहोस्