जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १३:२९

इजलास फर्किए न्यायाधीश कुमार चुडाल, बन्दीको रिटमा कारण देखाउ आदेश


काठमाडौं, २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन् । आफ्ना लागि पेसी नतोक्ने पूर्वसहमति विपरित जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन् ।

तर, चुडालले भने एकल इजलासमा पेस भएको एउटा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् । चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक एक वटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।

संयुक्त इजलासमा भएका न्यायाधीशहरू भने अहिलेसम्म इजलास नजाने अडानमै छन् । चुडालले जिल्ला अदालत रुपकुमपूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेका छन् । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई छोडेर रोलक्रममा कनिष्ठतम न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए ।