जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १६:३२

न्यायाधीशले नै सेटिङको पुष्टि गरे : ओली


बिराटनगर, २२ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको तथ्य अहिले पुष्टि गरेको बताउनुभएको छ । आज विराटनगरमा आयोजित पार्टी कार्यक्रममा अध्यक्ष ओलीले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको न्यायाधीशहरूकै भनाइले पुष्टि भएको बताउनुभएको हो ।

‘‘यो कसरी गरिएको भन्ने उहाँहरु (न्यायाधीशहरु) अहिले भन्दै हुनुहुन्छ । सेटिङ रहेछ । कसका कल्लाई मन्त्री बनाइदिने, कसका–कल्लाई राजदूत बनाइदिने, कसका–कल्लाई कहाँ के दिने । यो त देखिएको कुरा नदेखिएको के–के लेनदेन भयो ‘अझै खुल्न बाँकीहोला’ ओलीले भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले न्यायालयले नै आफ्नो मर्यादा नराखेको बताउनुभयो ।

‘हामीले फैसला मानिदिएर मात्रै हुँदैन इज्जत बढ्ने गरी फैसला गर्नुपर्छ’ उहाँले भन्नुभयो । संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको ओलीको भनाइ छ । उहाँले उक्त फैसला संविधान विपरीत भएको पनि प्रष्ट पार्नुभयो ।

उहाँले थप्नुभयो, ‘हामी डेमोक्रेटिक सिस्टटमा अदालत स्वतन्त्र मर्यादामा रहोस् मर्यादित हैसियतमा रहोस् भन्ने कामना गर्दछौं । तर दुखका साथ भन्नुपर्छ । हाम्रो सम्मानित अदालतले त्यसरी फैसला गरेन । सम्मानजनक निष्पक्ष फैसला गरेन । र संविधान बमोजिमको फैसला गरेन । संविधानभन्दा बाहिर गएर फैसला गर्यो ।’