जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १७:४५

चुनावमा जाने तागत नभएपछि अरू दल कांग्रेसको पुच्छर भएर हिडेको छ : अध्यक्ष ओली


विराटनगर, २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा गठबन्धन गरेर जान्छौं भनेर अरू दल हिडेको भन्दै कांग्रेसको पुच्छरको संज्ञा दिनुभएको छ । अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुने अध्यक्ष ओलीको भनाइ छ । अरू दल कांग्रेसको पुच्छर भएर हिडेको उहाँको आरोप छ । ‘चुनावमा गठबन्धन गरेर जान्छौं भनेर अरू दल हिडेका छन्। कांग्रेस बोल्दैन । तागत नभएपछि कांग्रेसका पछाडि लागेका छन्’, उहाँले भन्नुभयो, ‘चुनावमा जाँदा हालत के हुन्छ हामी पनि हेरेर बस्छौँ।’

एमाले मोरङले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । त्यस्तै अहिले तीन महिनासम्म मन्त्रीपरिषद् बिस्तार गर्न नसकेको सरकारले केही गर्छ भन्ने विश्वास नभएको पनि बताउनुभयो । ‘कसलाई मन्त्री, राजदुतलगायत नियुक्तीका कुरा आए र अरू धेरै आउन बाँकी छ’ उहाँले थप्नुभयो,‘उहाँहरूले दुनामा माग्दा अदालतले टपरीमा दियो ।’ अदालतमा किनबेचका भरमा चलेको आरोप समेत ओलीले लगाउनुभयो ।

‘ओलीलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने श्रीमानहरू खोई कस–कसलाई मन्त्री बनाउँदै हिड्नु हुँदोरहेछ’, ओलीले भन्नुभयो,‘अहिले न्यायलय भनेर चुप बस्ने दिन गएका छन् ।’ उहाँले न्यायलयको काम संविधानको व्याख्या गर्ने भए पनि संविधाननै बनाएको आरोप समेत लगाउनुभयो । अध्यक्ष ओलीले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईलाई आउँदो चुनावमा जनमत जोगाउन समेत चुनौती दिनुभयो ।